images
images
  • ट्रम्पका सामु नझुक्ने सान्चेज

    काठमाडौं – पछिल्ला केही वर्षको अधिकांश समय स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले त्यस्तो अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राख्न सफल भएका छन्, जुन विरलै राजनीतिज्ञले हासिल गर्छन् । युक्रेनका दृढ समर्थक र प्यालेस्टिनी अधिकारका मुखर पक्षधर ५४ वर्षीय सान्चेजले आफूलाई युरोपका प्रगतिशील राजनीतिक शक्तिहरूका लागि नैतिक मार्गदर्शकका रूपमा स्थापित गरेका छन् ।

    युरोपका केही नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा उनीसँग सम्बन्ध सुधार्न र उनको समर्थन प्राप्त गर्न सम्झौता तथा सहमतिको बाटो रोजे । सान्चेजले भने ट्रम्पको दबाबसामु नझुक्ने नीति अपनाए । इरानमाथि प्रत्यक्ष आक्रमण गर्न अमेरिकाले संयुक्त रूपमा सञ्चालन गर्दै आएका सैन्य आधार शिविर प्रयोग गर्न अनुमति दिन म्याड्रिडले अस्वीकार गरेपछि मार्च ३ मा ट्रम्पले भनेका थिए, ‘हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौँ ।’

    नेटोका यी दुई सहयोगी राष्ट्र बिच देखिएको यो मतभेद धेरै असहमतिमध्ये एक थियो। सान्चेजले नेटो सदस्य राष्ट्रहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को पाँच प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने ह्वाइट हाउसको माग पनि अस्वीकार गरेका थिए। यसले उनीमाथि थप अमेरिकी आलोचना निम्त्यायो ।

    ट्रम्पका यस्ता आक्रमणले युरोपमा सान्चेजको छवि अझ बलियो बनायो। उनलाई ट्रम्पसँग व्यवहार गर्ने नयाँ रणनीतिका अगुवाका रूपमा हेरिन थालियो। तर आफ्नै देश स्पेनमा भने उनको मूल्याङ्कन लामो समयदेखि निकै फरक रहँदै आएको छ । आठ वर्षदेखि सत्तामा रहेका सान्चेजको कार्यकालमा उनका निकट वर्तीहरूमाथि भ्रष्टाचारका आरोप लागेका छन्। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सेउटामा आप्रवासीसम्बन्धी गम्भीर संकट देखिएको छ । दुई वटा विनाशकारी रेल दुर्घटना भएका छन् । आवासको बढ्दो मूल्य र सर्वसाधारणको पहुँचबाहिर पुगेको घरजग्गा संकट चुलिएको छ । त्यसमाथि, कागजमा अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेको देखिए पनि त्यसको लाभ सामान्य नागरिकसम्म पुग्न सकेको छैन ।

    WhatsApp Image 2026 11 28 at 09.15.17

    यी सबै कारणले स्पेनी नागरिकमा सरकारप्रति थकान र असन्तुष्टि स्पष्ट रूपमा देखिन थालेको छ । प्रधानमन्त्रीका रूपमा उनको पछिल्लो कार्यकालका केही महिनामा शिक्षक, स्वास्थ्यकर्मी, रेल कर्मचारीलगायत विभिन्न क्षेत्रका श्रमिकले लगातार हडताल गरेका छन् । उनीहरूले आफ्नो जीवनस्तर खस्किँदै गएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

    आवास संकट नियन्त्रण गर्न ल्याउन खोजिएका आपत्कालीन उपाय पारित गराउन सरकार असफल भएपछि अन्ततः सान्चेजको गठबन्धन सरकार ढल्यो । त्यसपछि उनले गत महिना निर्धारित समयभन्दा अगावै आमनिर्वाचन घोषणा गरे । आइतबार हुने मतदानको तयारी भइरहँदा अधिकांश जनमत सर्वेक्षणले सान्चेज नेतृत्वको मध्य वामपन्थी स्पेनिस सोसलिस्ट वर्कर्स पार्टी ९पीएसओई० लाई मध्य दक्षिणपन्थी पिपुल्स पार्टी ९पीपी० भन्दा पछाडि देखाएका छन् ।

    चुनावी अभियानका क्रममा आकर्षक व्यक्तित्व र चतुर राजनीतिक रणनीतिका लागि परिचित सान्चेजले पछिल्ला केही सातामा आफ्नो पार्टी र पीपीबीचको मतान्तर घटाउन सफल भएका छन् । राजनीतिक जीवनमा पटक–पटक प्रतिकूल परिस्थितिलाई पराजित गर्दै अघि बढेका उनी एक कुशल राजनीतिक अस्तित्व रक्षकका रूपमा पनि चिनिन्छन् ।

    तर निर्वाचनमा उनको पार्टी पहिलो स्थानमा आए पनि पीएसओई र वामपन्थीका अन्य दलहरूले दक्षिणपन्थी बहुमत रोक्न आवश्यक मत प्राप्त गर्ने सम्भावना निकै कम रहेको अधिकांश सर्वेक्षणले देखाएका छन् । त्यस्तो अवस्था आएमा पीपी र अति दक्षिणपन्थी पार्टी भोक्सबीच सरकार गठनका लागि गठबन्धन बन्ने व्यापक अनुमान गरिएको छ ।

    यदि यस्तो भयो भने सन् १९७५ मा तानासाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि लोकतान्त्रिक व्यवस्था स्थापना भएयता पहिलो पटक स्पेनको सरकारमा अति दक्षिणपन्थी शक्तिको सहभागिता हुनेछ । सान्चेजका प्रमुख प्रतिस्पर्धी तथा पीपीका नेता अल्बर्टो नुनेज फेइजोले पछिल्ला आठ वर्षमा भएका कमजोरी सुधार्ने नारासहित चुनावी अभियान सञ्चालन गरेका छन्। स्पेनभरि उनका चुनावी पोस्टर र विज्ञापनमा ‘आवश्यक परिवर्तन’ र ‘आवश्यक प्रधानमन्त्री’ भन्ने नारा लेखिएका छन् ।

    ६५ वर्षीय फेइजोले आफ्नो चुनावी अभियानमार्फत सक्षम नेतृत्व र कडा अनुशासनको सन्देश बेचिरहेका छन् । उनले पछिल्ला केही वर्षमा पीएसओईको शासनकाललाई अराजकता र राजनीतिक तमासाको पर्यायका रूपमा चित्रण गरेका छन् । वास्तवमा, उनको सन्देशको सार यस्तो छ—स्पेनी नागरिकले अहिले जे चाहेका छन्, त्योभन्दा पनि उनीहरूलाई वास्तवमा जे आवश्यक छ, त्यो उपलब्ध गराउने नेतृत्व आफूले दिन सक्छु ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images