images
images
  • पाँच वर्षभित्र सबै समुदायमा विपत्को पूर्वसूचना पुर्‍याउने सरकारको लक्ष्य

    काठमाडौं – राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी पाँच वर्षभित्र नेपालका सबै समुदायमा विपत्को पूर्वसूचना प्रणालीको पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३–२०८७’ स्वीकृत गरेको छ ।

    प्राधिकरणको कार्यकारी समितिको बैठकले उक्त मार्गचित्र स्वीकृत गरेको हो । यसमार्फत बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

    प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार मार्गचित्र कार्यान्वयनका लागि तीनै तहका सरकारले बजेट विनियोजन गरी समुदायस्तरसम्म पूर्वसूचना पुर्‍याउने व्यवस्था गरिनेछ । विपत्बाट जनधन तथा जीविकोपार्जनको सुरक्षा गर्न प्रतिकार्यमा संलग्न निकायको क्षमता अभिवृद्धि र पूर्वतयारीलाई समेत सुदृढ बनाइने उहाँले बताए ।

    प्राधिकरणले गत असोज १६ गते मार्गचित्रको मस्यौदा सार्वजनिक गर्दै राय तथा सुझाव मागेको थियो । प्राप्त सुझाव समेटेर स्वीकृत गरिएको मार्गचित्रमा पूर्वसूचना प्रणालीलाई चार मुख्य स्तम्भ र एउटा आधारस्तम्भमा विभाजन गरी कार्यान्वयन गर्ने निकायको जिम्मेवारी निर्धारण गरिएको प्रवक्ता केसीले जानकारी दिए ।

    मार्गचित्रका चार मुख्य स्तम्भमा विपत् जोखिमको ज्ञान, प्रकोपको पहिचान तथा अवस्था अवलोकन, निगरानी, विश्लेषण र पूर्वानुमान, सूचना सम्प्रेषण तथा सञ्चार र पूर्वतयारी तथा प्रतिकार्य क्षमता रहेका छन् ।

    ‘सबैका लागि पूर्वसूचना’ संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । यसअन्तर्गत सन् २०२७ को अन्त्यसम्म पृथ्वीका प्रत्येक व्यक्तिलाई जीवनरक्षाका लागि प्रभावकारी पूर्वसूचना प्रणालीको पहुँचमा ल्याउने लक्ष्य राखिएको छ । नेपालले भने सन् २०२६ को अन्त्यतिर पाँचवर्षे मार्गचित्र स्वीकृत गरेको हो ।

    बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृतक घोषणा गर्न सिफारिस

    यसैबीच, प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका तीन हजार ९१५ जनालाई कानुनी रूपमा मृतक घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

    प्राधिकरणका प्रवक्ता केसीका अनुसार गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि उनीहरूलाई कानुनी रूपमा मृतक घोषणा गर्ने प्रक्रिया अघि बढ्नेछ ।

    उनका अनुसार ४८ जिल्लाबाट प्राप्त यकिन विवरणअनुसार तीन हजार २९२ जना र सातवटा विदेशी नियोगबाट प्राप्त विवरणअनुसार ६२३ जना गरी कुल तीन हजार ९१५ जनालाई मृतक घोषणा गर्न सिफारिस गरिएको हो ।

    गत भदौ १० गते गएको बाढीमा पाँच हजार २८५ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको थियो। यसमा ३४ राष्ट्रका ७२० जना विदेशी नागरिकसमेत रहेका छन् । प्राधिकरणमा तीन हजार ९२१ जनाको विवरण प्राप्त भए पनि मृतक घोषणा गर्न तीन हजार ९१५ जनाको नाम मात्रै सिफारिस गरिएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५३८ जना बेपत्ता भएका छन्। त्यस्तै, नुवाकोटका ६३१ जना बेपत्ता भएको विवरण छ ।

    प्रदेशगत विवरणमा कोशी प्रदेशबाट सबैभन्दा बढी सोलुखुम्बुका ५२ जना र मधेश प्रदेशबाट सप्तरीका ५१ जना बेपत्ता भएका छन् । गण्डकी प्रदेशबाट गोरखाका ६७, लुम्बिनी प्रदेशबाट बर्दियाका ७४, कर्णाली प्रदेशबाट जुम्लाका ६३ र सुदूरपश्चिम प्रदेशबाट कैलालीका ५१ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । विदेशी नागरिकतर्फ भारतका २१३, चीनका ८५ र संयुक्त राज्य अमेरिकाका ६९ जना बेपत्ता भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images