काठमाडौं – हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट किसानले यस वर्ष आठ करोड २६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका छन् । सडक सञ्जाल विस्तारसँगै जिल्ला बाहिरको बजारमा पहुँच बढेपछि स्याउको कारोबार गत वर्षको तुलनामा दोब्बरभन्दा बढी पुगेको हो ।
कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ । कुल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले जानकारी दिए ।
गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ । त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको कार्यालयको तथ्याङ्क छ ।
काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो । तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझ बढी हुन सक्ने कार्यालय प्रमुख पन्तले बताए । व्यक्तिगत रूपमा खरिद गरी जिल्ला बाहिर पठाइएको तथा जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने कार्यालयको तथ्याङ्कमा समावेश गरिएको छैन ।
सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो । गत वर्ष करिब चार करोड रुपैयाँको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ । स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको स्याउ खरिद–बिक्रीमा संलग्न अदानचुली गाउँपालिका–३ का अर्जुन फडेराले बताए ।
यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकिलो ६० रुपैयाँ, बी ग्रेडको ५० रुपैयाँ र सी ग्रेडको ४० रुपैयाँमा बिक्री भएको थियो । कृषि विकास कार्यालयका अनुसार हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको छ ।
हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै यस वर्ष ११ ट्रक स्याउ निकासी भएको छ । आगामी पाँच वर्षभित्र वार्षिक कम्तीमा ५५ ट्रक स्याउ निकासी गर्ने लक्ष्यसहित गाउँपालिकालाई स्याउ जोनका रूपमा विकास गरिएको अध्यक्ष लालकेश जैसीले बताए ।





















