काठमाडौं – तीन दशकअघि मजदुरी गरेर जीविकोपार्जन गर्दै आउएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ। सामान्य मजदुरीबाट गुजारा चलाउँदै आएका उ अहिले व्यावसायिक किसानका रूपमा स्थापित भएको छ । आफ्नै गाउँमा तरकारीखेतीलाई व्यवसाय बनाएर आर्थिक आत्मनिर्भरता हासिल गरेका बानियाँको कृषि यात्राले श्रम र उद्यमबाट पनि जीवनस्तर परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि बानियाँले व्यावसायिक तरकारीखेती सुरु गरेको हो । सुरुमा सानो क्षेत्रफलबाट थालिएको खेतीलाई विस्तार गर्दै उनले अहिले हराभरा कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरिरहेको छ । मजदुरी गरेर परिवारको खर्च धान्न कठिन भएपछि कृषि पेसा रोजेको उ बताउछन् ।
“खेतीपातीको काम र विकास निर्माणका योजनामा मजदुरी गरेर जीविकोपार्जन गर्न कठिन भएपछि तरकारीखेती सुरु गरेको हुँ,” उनले भने, “तरकारीखेतीले ज्याला मजदुरी गर्नुपर्ने र ऋण खोज्नुपर्ने बाध्यता हटाएको छ । आर्थिक अवस्था सुधार हुनुका साथै अरूलाई रोजगारी दिन सकेको छु ।”
बानियाँले अहिले साढे दुई रोपनी जमिनमा तरकारीखेती र बिरुवा उत्पादन गर्दै आएको छ । तीन रोपनी क्षेत्रफलमा केराखेती गरेको छ भने सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछापालनसमेत गरेको छ । उनले सञ्चालन गरेको फार्मबाट वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ ।
फार्ममा निर्माण गरिएका तीनवटा स्थायी प्रकृतिका प्लास्टिक घरमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । त्यहाँ सिमी, साग, बन्दा, काउली, गोलभेँडा, ब्रोकाउली र घिरौँलालगायत तरकारी खेती गरिन्छ। हिउँदयाममा प्याज, बन्दा र काउलीका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरिएको छ।
फार्ममा उत्पादित तरकारी बेनी बजार र सिंगाको तातोपानी क्षेत्रमा बिक्री हुन्छ । पछिल्लो समय फोनबाटै व्यापारीसँग सम्पर्क गरी कारोबार गर्न सहज भएको बानियाँको अनुभव छ। व्यापारीले फार्मबाटै तरकारी लैजाने र बिक्री भएको रकम बैंक खातामा जम्मा गरिदिने भएकाले बजारसम्म पुग्नुपर्ने समय र खर्चसमेत बचत भएको छ ।
“तरकारीखेती सुरु गरेपछि घरमा पैसाको अभाव भएको छैन। छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ,” उहाँले भन्नुभयो, “विदेशको कमाइ भेलबाढीजस्तै हो । आफ्नै ठाउँमा गरेको उद्यमबाट हुने आम्दानी थोरै भए पनि दिगो र स्थायी हुन्छ।”
कृषि पेसाबाट प्राप्त आम्दानी र अनुभवसँगै बानियाँले आफ्नो व्यवसायलाई थप विस्तार गर्ने योजना बनाउनुभएको छ। उहाँ अहिले माहुरीपालन विस्तार गर्ने तयारीमा छन् । कृषि कर्मबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पाउँदा सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ। कृषि विकास कार्यालयलगायत विभिन्न निकायबाट उहाँ पुरस्कृतसमेत भएको छ ।
सिंगा क्षेत्र ताजा तरकारी तथा फलफूलखेतीको पकेट क्षेत्र भएकाले स्थानीय किसानलाई कृषि उपकरण र सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो। उहाँका अनुसार स्थानीय स्तरमा कृषि उद्यमको सम्भावना खोजेर सफल भएका बानियाँ व्यावसायिक किसानका लागि प्रेरणाको स्रोत बनेको छ ।
“विदेश नगई आफ्नै ठाउँमा सम्भावना खोजेर सफल हुनुभएका तेजबहादुर व्यावसायिक किसानका लागि उदाहरण हुनुहुन्छ,” वडाध्यक्ष खड्काले भने, “उनको सङ्घर्ष, पेसाप्रतिको लगाव, निरन्तरता र इमान्दारिताबाट अरूले पनि प्रेरणा लिन सक्छन्।”






















