काठमाडौं – बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले शिक्षा क्षेत्रमा बजेट खर्च गर्नु मात्रै उपलब्धि नभई सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य उद्देश्य हुनुपर्ने बताएको छ ।
शिक्षा विकास निर्देशनालय, हेटौँडाद्वारा शुक्रबार आयोजित ‘न्यून साक्षरता भएका स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम’को अभिमुखीकरण कार्यक्रममा मन्त्री तामाङले अति विपन्न, पिछडिएका, सीमान्तकृत तथा लोपोन्मुख समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन विशेष ध्यान दिनुपर्ने बताए ।
“बजेटको कार्यक्रममा काम गर्नु मात्रै हाम्रो लक्ष्य होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो लक्ष्य हो,” उनले भने, “कार्यक्रम सम्पन्न भयो भन्नेमा मात्रै सीमित भयौँ भने अपेक्षित परिणाम आउँदैन।”
मन्त्री तामाङले नेपालको भूगोल, स्रोत, जनजीवन र आवश्यकताअनुसार मौलिक तथा व्यवहारिक शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। सूचना प्रविधिको तीव्र विकाससँगै शिक्षा प्रणालीलाई पनि समयानुकूल, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
स्थानीय तह नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको सरकार भएकाले शिक्षाको गुणस्तर सुधारमा यसको भूमिका महत्वपूर्ण हुने मन्त्री तामाङले उल्लेख गर्नुभयो। आधारभूत तहदेखि नै प्रभावकारी शिक्षा प्रदान गर्न सके मुलुकको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पर्ने उनले बताए ।
शिक्षा विकास निर्देशनालयका निर्देशक गोपालप्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यून साक्षरता भएका स्थानीय तहमा सञ्चालन हुने शैक्षिक गुणस्तर सुधार कार्यक्रमको कार्यान्वयन, चुनौती तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।





















