images
images
  • विचौलिया इनमले पत्नीमार्फत मागे ज्यानको सुरक्षा, मानव अधिकार आयोगमा पाँच पृष्ठ लामो निवेदन

    प्रहरी हिरासतमा मानसिक यातना र ज्यान मार्ने धम्की दिएको आरोप, प्रभावशाली व्यक्तिविरुद्ध बयान दिन दबाब दिएको सापकोटाको दाबी

    काठमाडौं– सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाले आफू र आफ्नो परिवारको जिउज्यानको सुरक्षा माग्दै राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढक्याएका छन् ।

    सापकोटाको तर्फबाट उनकी पत्नी कविता पाण्डेले मंसिर ११ गते राष्ट्रिय मानव अधिकार आयोगमा पाँच पृष्ठ लामो निवेदन दर्ता गराएकी हुन् । आयोगमा दर्ता भएको निवेदनको नम्बर १६४४ रहेको छ ।

    निवेदनमा सापकोटालाई गैरकानुनी रूपमा थुनामा राखिएको, मानसिक यातना दिइएको तथा विभिन्न व्यक्तिविरुद्ध बयान र प्रमाण दिन दबाब दिइएको आरोप लगाइएको छ । आफूलाई झूटा मुद्दामा फसाउने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले निष्पक्ष अनुसन्धान र जिउज्यानको सुरक्षाको माग गरेका छन् ।

    विमानस्थलबाट नियन्त्रणमा लिएर अज्ञातस्थलमा लगिएको दाबी

    निवेदनअनुसार असोज १४ गते बिहान १०ः३० बजे नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम सुरक्षा जाँचस्थलमा पुगेका बेला प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएको थियो ।

    त्यसपछि उनका दुवै मोबाइल फोन नियन्त्रणमा लिइएको र आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा लगिएको निवेदनमा उल्लेख छ । सोधपुछका नाममा विभिन्न किसिमका दबाब र मानसिक यातना दिइएको उनको दाबी छ ।

    परिवारलाई आफू नियन्त्रणमा परेको जानकारी गराइदिन आग्रह गर्दा पनि बेवास्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

    चोलेन्द्र, गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिन दबाब ?

    सापकोटाको निवेदनमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालयन होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण तथा बयान दिन आफूलाई दबाब दिइएको दाबी गरिएको छ ।

    निवेदनमा उल्लिखित व्यक्तिमध्ये केहीसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको र केहीसँग सामान्य चिनजानसमेत नरहेको सापकोटाको भनाइ छ ।

    फोन सम्पर्क भएकै आधारमा आफूलाई अपराधीसरह व्यवहार गरिएको उनको दाबी छ । विभिन्न व्यक्तिसँगको सम्पर्कलाई आधार बनाएर आफूलाई अनुसन्धानको घेरामा राखिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

    कागजातमा हस्ताक्षर गर्न नमानेपछि परिवारलाई धम्की ?

    प्रहरीले तयार पारेका कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि आफू र परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिइएको सापकोटाको आरोप छ ।

    त्यसपछि बलपूर्वक अडियो रेकर्ड गराएर सार्वजनिक गरिएको दाबीसमेत निवेदनमा गरिएको छ । अनुसन्धानका क्रममा प्रयोग गरिएका सामग्री र आफूलाई नियन्त्रणमा लिँदाको प्रक्रियामाथि पनि उनले प्रश्न उठाएका छन् ।

    त्यस्तै, विमानस्थल बाहिर अभद्र व्यवहार गरेको, अवैध विदेशी मुद्रा राखेको तथा सम्पत्ति शुद्धीकरणको मुद्दा सिर्जना गरेर आफूलाई थुनामा राखिएको उनको जिकिर छ ।

    नियन्त्रणमा लिइएको मोबाइल फोनबाट कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरी नक्कली प्रमाण तयार पारिएको हुन सक्ने आशंकासमेत उनले व्यक्त गरेका छन् ।

    मानव अधिकार आयोगसँग निष्पक्ष छानबिनको माग

    सापकोटाले नेपालको संविधानको धारा २० मा व्यवस्था गरिएको न्यायसम्बन्धी हक, धारा २८ को गोपनीयताको हक तथा धारा २४९ अन्तर्गत राष्ट्रिय मानव अधिकार आयोगको संवैधानिक भूमिकासँग सम्बन्धित विषय उठाएका छन् ।

    निवेदनमा घटनामा संलग्न भनिएका व्यक्ति तथा अनुसन्धानका गोप्य सामग्री सार्वजनिक गर्नेहरूमाथि छानबिन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्न आयोगसँग आग्रह गरिएको छ ।

    साथै आफू र आफ्नो परिवारको जिउज्यानको सुरक्षा सुनिश्चित गर्न तथा अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत बनाउन आवश्यक पहल गरिदिन माग गरिएको छ ।

    यस्तो छ निवेदन

    inam letter 1 inam letter 2 inam letter 3 inam letter 4 inam letter 5

    प्रतिक्रिया दिनुहोस्
    images
    images