काठमाडौं– मलेसिया बायोमेडिकल प्रकरणमा काठमाडौंस्थित मलेसियान दूतवासको समेत रहस्यमय संलग्नता देखिएको छ । यस प्रकरणमा काठमाडौंस्थित मलेसियाली दूतावासबाट पठाएकोक पत्रमा यस्तो ठगी किन गरिएको भनेर चासो राखिएको थिएन, बरु ठगीका लागि बाटो खुल्ने व्यवस्था गरिएको थियो ।
सन् २०१९ जुन १७ मा कार्यवाहक राजदूत अहमद फदिल इस्माइलले नेपाल सरकारलाई होइन, म्याक्रोटेकका सञ्चालक मुकुन्द भट्टराईलाई पत्र लेखेर ‘तत्काल लागू हुने गरी’ बायोमेडिकल शुल्क रु. ३,१६४ तोके र ३७ स्वास्थ्य संस्थामा लागू गराउन अनुमति दिए ।
सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसियाली दूतावासका पत्र कूटनीतिक मर्यादाभन्दा बाहिर गएर पठाइएका थिए । २०८२ को अनुगमन प्रतिवेदनले पनि विदेशी दूतावासले नेपालमा शुल्क तोक्ने र केन्द्रीय बैंकलाई निजी कम्पनीको भुक्तानीका लागि अनुरोध गर्ने कानुनी आधारमाथि प्रश्न उठाएको थियो । दूतावासका भनिएका पत्रको आधिकारिकतासमेत अझै यकिन हुन बाँकी रहेको सीआईबीको भनाइ छ ।
अर्को देशको दूतावासले नेपाली रुपैयाँमा, नेपालको मूल्य अभिवृद्धि करसमेत जोडेर तोकेको यही शुल्क नै सिङ्गो सङ्कलनको आधार बन्यो । अनुसन्धान अधिकारीहरूका अनुसार दूतावासबाटै पत्र तयार पार्न लगाएर स्वास्थ्य जाँच, रकम उठाउने र विदेश लैजाने आधार बनाइएको थियो ।
तत्कालीन श्रममन्त्रीसहितको समूहमाथि एउटा गम्भीर आरोप लागेको छ । स्वास्थ्य परीक्षणबापत तोकिएकोभन्दा बढी रकम लिएर मलेसिया जाने श्रमिकमाथि आर्थिक शोषण भयो । तर, अनुसन्धान गर्दा पुष्टि भएको छ– स्वास्थ्य परीक्षणका लागि एक रुपैयाँ पनि रकम तिर्नु नपर्नेमा नेपाली श्रमिकबाट धमाधम उठाइएको थियो ।
नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा स्पष्ट लेखिएको छ– श्रमिकको टिकट, भिसा र बायोमेट्रिकसहितको स्वास्थ्य परीक्षणको रकमको जिम्मेवारी रोजगारदाता कम्पनीको हुनेछ । श्रमिकले स्वास्थ्य परीक्षणका लागि नेपालमा रकम भुक्तान गरिहालेमा पनि पहिलो महिनाको तलबसहित सोधभर्ना पाउनुपर्छ । उताबाट रकम नेपाली श्रमिकको खातामा आउनुपर्नेमा यताबाट पैसा उठाएर धमाधम मलेसिया पठाइएको थियो ।
श्रमिकबाट अनधिकृत रकम उठाएर मलेसिया पठाउन मन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवरले निर्णय नै गरेका थिए भने डोलप्रसाद (डीपी) अर्याल र शरतसिंह भण्डारीका पालामा पनि मन्त्रालयको सक्रियतामा श्रमिकमाथि सङ्गठित शोषण गरिएको थियो । चार वर्षमा चार मन्त्रीको कार्यकालमा साढे सात लाख श्रमिकबाट दुई अर्ब ३७ करोड रुपैयाँ लुटेर एक अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइएको थियो । पूर्वमन्त्री यादव र कुँवर अहिले सीआईबीको हिरासतमा छन् ।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको सम्झौताले श्रमिकलाई शून्य लागतमा लैजाने र स्वास्थ्य परीक्षणसमेतको खर्च रोजगारदाताले बेहोर्ने स्पष्ट व्यवस्था गरेको छ । तर काठमाडौंमा ३६ स्वास्थ्य संस्थाको सिन्डिकेट खडा गरी हरेक श्रमिकबाट सम्झौतामा उल्लेखै नभएको १०० रिङ्गिट अर्थात् रु. ३,१६४ ‘बायोमेडिकल’ शुल्क असुलियो ।
सरकारी अभिलेखअनुसार सन् २०२० फेब्रुअरीदेखि २०२४ मेसम्म ७ लाख ५० हजार ९८८ श्रमिकबाट २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ उठाइएको थियो । त्यसमध्ये करिब १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको डलर र पाउन्ड मलेसियाली कम्पनी बेस्टिनेट सेन्डिरियन बरहाडको खातामा पुग्यो । १७ पटक नै रकम ट्रान्सफर गर्दा श्रम मन्त्रालयको सिफारिस थियो ।
यसमा काठमाडौंस्थित मलेसियाली दूतावासका तत्कालीन अधिकारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री र राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न छन् र कूटनीतिक सुविधाको समेत दुरुपयोग भएको सीआईबीको दाबी छ । पक्राउ परेकाहरूमाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।
२०७५ कात्तिक १२ (२९ अक्टोबर २०१८) मा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा नेपाल र मलेसिया सरकारबीच श्रमिकको भर्ना, रोजगारी र फिर्तीसम्बन्धी सम्झौता भयो । सम्झौताको एपेन्डिक्स बीको बुँदा ७ (जी) ले नेपालमा हुने स्वास्थ्य परीक्षणको खर्चसमेत रोजगारदाताले तिर्नुपर्ने र श्रमिकले तिरेको भए पहिलो महिनाको तलबसँगै फिर्ता गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।
सम्झौता र कार्यान्वयनको अनुगमन गर्न बनेको संयुक्त कार्यदल (जेडब्लूजी) को पहिलो बैठकले नेपाली श्रमिक भर्नाको अनुमानित खर्चको तालिका ‘एनेक्स फाइभ’ पारित गरेको थियो ।
त्यसमा बायोमेडिकल सिस्टमका लागि १०० रिङ्गिट र स्वास्थ्य परीक्षणका लागि २६० रिङ्गिट दुवै मलेसियाली रोजगारदाताको कोलममा राखिएका छन्, श्रमिकको कोलम खाली छ । मलेसियाली दूतावासकै सन् २०२२ मार्च ७ को सार्वजनिक सूचनामा पनि बायोमेडिकल सिस्टम (बीएमएस) को खर्च रोजगारदाताको जिम्मा भनिएको छ ।
तर व्यवहारमा उल्टो भयो । रोजगारदाताबाट लिनुपर्ने मेडिकल शुल्क रु. ६,५०० र सम्झौतामा श्रमिकले तिर्ने कुनै उल्लेखै नभएको थप १०० रिङ्गिट गरी झन्डै रु. ९,५०० नेपाली श्रमिकबाट असुलियो । दूतावासको सूचनाअनुसार यो १०० रिङ्गिटको नेपाली रूपयाँ रु. ३,१६४ थियो– सेवा शुल्क रु. २,८०० र १३ प्रतिशत भ्याट रु। ३६४ ।
सिन्डिकेटमा रहेका स्वास्थ्य संस्थाबाहेक अरूमा परीक्षण गराउनै नपाइने भएकाले श्रमिकसँग अर्को विकल्प थिएन । कुनै रोजगारदाताले यो शुल्क तिरिदिएको वा कुनै श्रमिकले पहिलो तलबसँग फिर्ता पाएको कुनै कागजात अनुगमन टोलीले भेट्टाउन सकेन । उताबाट रकम नेपाली श्रमिकले पाउनुपर्नेमा यो त उता पठाउने रकम हो भन्दै पौने दुई अर्ब रुपैयाँ पठाइएको थियो ।
२०७० सालअघिसम्म सरकारले मलेसिया जाने श्रमिकको मेडिकलका लागि कुनै निश्चित स्वास्थ्य संस्थालाई जिम्मा दिएको थिएन, सरकारबाट स्वीकृत २०५ संस्थामध्ये जुनसुकैबाट परीक्षण गराएर श्रमिक मलेसिया जान सक्थे ।
मलेसिया जाने श्रमिक ठगीको केन्द्रमा छन् रामेछापका कैलाश खड्का । २०७० सालमा यो व्यवसायमा प्रवेश गरेका खड्काले नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको नेतृत्वमा बसेको फाइदा उठाउँदै २०७० असार ६ मा मलेसियाली कम्पनी बेस्टिनेटका प्रमुख कार्यकारीसँग बायोमेट्रिक प्रणाली सञ्चालनसम्बन्धी समझदारीमा हस्ताक्षर गरे । सरकारी अनुगमन प्रतिवेदनअनुसार त्यसबेला महासङ्घका अध्यक्ष प्रवीण तिवारी र वरिष्ठ उपाध्यक्ष कैलाश खड्का थिए । खड्काले आफैँ मलेसिया पुगेर बेस्टिनेटसँग ‘सेटिङ’ मिलाएका थिए ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको प्रतिवेदनपछि श्रम मन्त्रालयले २०७२ असार २१ गते मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीबाट गर्ने निर्णय ग¥यो । असार २२ मा सचिवले टिप्पणी उठाए र असार २३ मा टेकबहादुर गुरुङको राज्यमन्त्रीस्तरीय निर्णयबाट सदर भयो ।
असार २५ मा मन्त्रालयले उही महासङ्घलाई पत्र लेख्यो, जसमा बायोमेट्रिक परीक्षणलाई बढीमा ६ महिनाका लागि मात्र अनुमति दिइएको थियो र श्रमिकको हितविपरीत भए खारेज हुन सक्ने सर्त राखिएको थियो ।
६ महिने परीक्षण र निःशुल्क सेवाको नाममा सुरु भएको बायोमेडिकल निरन्तर चल्यो, रकम उठाउने काम पनि जारी रह्यो । बायोमेट्रिक जाँचको अनुमति दिने भन्दै बेस्टिनेटले स्वास्थ्य संस्थासँग निवेदन मागेको थियो र ३९ वटा छानिएका थिए ।
बेस्टिनेटका नेपाल साझेदार खड्काले ती संस्थासँग रकम उठाएको र मागेअनुसारको कमिसन नदिएका संस्था हटाएर सङ्ख्या ३६ मा झारिएको आरोप छ । मलेसियाकै भनाइअनुसार यी ३६ संस्थाले सन् २०१५ देखि निरन्तर रकम उठाइरहेका थिए ।
२०७५ जेठ २ मा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले आफूखुसी रकम उठाउने कम्पनीहरूलाई कारबाही हुने भन्दै यस्तो रकम नउठाउन निर्देशन दिए र गृह मन्त्रालयलाई पत्र लेखे । त्यो पत्र प्रहरी प्रधान कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौँ पुग्यो र प्रहरीले राम श्रेष्ठसहित करिब ४० जनालाई पक्राउ ग¥यो । खड्का भने फरार थिए ।
पक्राउ परेकाहरूले अदालतबाट भने सफाइ पाए । ६ महिने अनुमति खारेज नभएको र सिन्डिकेटलाई ठगी नमानिएको तर्कमा सफाइ दिइएको थियो । त्यो फैसला विवादित बन्यो र फैसला गर्ने न्यायाधीश न्याय परिषद्मा तानिए ।
श्रमिकमाथि थोपरिएको भार नहटेसम्म मलेसिया श्रमिक नपठाउने अडान लिँदै विष्टले सोही दिन मलेसिया रोजगारी नै बन्द गरे । झन्डै दुई वर्ष बन्द रहेको मलेसिया रोजगारी सम्झौतापछि खुल्यो, त्यसमा स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने भनिएको थियो तर श्रमिकबाटै निरन्तर उठाइयो ।

म्याक्रोटेकको जन्म र दूतावासको पत्र
सम्झौताले श्रमिकलाई शून्य लागतमा लैजाने भने पनि नेपालमा भने राज्यकै संरक्षणमा रकम सङ्कलन भइरह्यो । खड्का, मुकुन्द भट्टराई र शालिग्राम क्षेत्री मिलेर २०७५ फागुन ६ मा म्याक्रोटेक प्रा।लि। स्थापना गरियो ।
महाराजगन्जको नबिल गल्लीमा कार्यालय रहेको म्याक्रोटेकले २०७५ चैत (अप्रिल २०१९) मा मलेसियाको बेस्टिनेटसँग ‘बिजनेस प्रोसेस र आईटी हेल्प डेस्कः बायोमेडिकल मोड्युल (एफडब्लूसीएमएस)’ सेवाको नाममा सम्झौता ग¥यो र आफूलाई बेस्टिनेटको नेपाली साझेदारका रूपमा चिनायो । सरकारलाई पेस गरिएका कागजातमा कम्पनीका सञ्चालक अध्यक्षका रूपमा खड्काले हस्ताक्षर गरेका छन् ।
सीआईबीका अनुसार यसमा काठमाडौंस्थित मलेसियाली दूतावासका तत्कालीन अधिकारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री र राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न छन्, र कूटनीतिक सुविधाको समेत दुरुपयोग भएको छ ।
सन् २०१९ सेप्टेम्बर १०–११ मा बसेको संयुक्त कार्यदलको बैठकले पनि श्रमिकमाथि भइरहेको शोषण बेवास्ता गर्दै मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेका ३६ स्वास्थ्य संस्था ‘पर्याप्त’ भएको र तिनैले काम जारी राख्न दिने निर्णय ग¥यो । ती संस्थाहरूले अनुमतिबिना म्याक्रोटेकको भ्याट बिल काटेर रु। ३,१६४ उठाए र म्याक्रोटेकको सनराइज बैंक खातामा जम्मा गरिरहेका थिए ।
पछि खड्कासँग विवाद परेपछि उनका नेपाल साझेदार भट्टराईले सरकारलाई दिएको विवरणअनुसार हरेक श्रमिकबाट उठाइएको १०० रिङ्गिटमध्ये १० रिङ्गिट म्याक्रोटेकले राख्थ्यो र ९० रिङ्गिट बेस्टिनेटलाई पठाइन्थ्यो ।
मलेसियाली दूतावासले पनि परीक्षण गरिएका श्रमिकको सङ्ख्या खुलाएर राष्ट्र बैंकलाई भुक्तानी ‘सहजीकरण’ गर्न पत्र लेख्थ्यो । श्रम मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा सिफारिस गथ्र्यो, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले स्वीकृति दिन्थ्यो र लक्ष्मी सनराइज बैंकको खाताबाट टिटी (टेलिग्राफिक ट्रान्सफर) मार्फत बेस्टिनेटको मलायन बैंकिङ बरहाडको खातामा रकम पुग्थ्यो ।
सीआईबीको पत्रको जवाफमा राष्ट्र बैंकले पनि यी रकमान्तर भएको र तिनले ७ लाख ५० हजार ९८८ श्रमिकको स्वास्थ्य परीक्षण समेटेको पुष्टि गरेको छ । एक अनुसन्धान अधिकृतका अनुसार राष्ट्र बैंकले कागजातको सत्यतथ्य जाँच नगरी अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा पठाउन स्वीकृति दियो । यद्यपि सम्बन्धित मन्त्रालयको पत्र पाएपछि राष्ट्र बैंकले पैसा पठाउने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।
कसका पालामा कति रकम गयो मलेसिया ?
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम २०७६ सालदेखि मलेसिया लैजान थालिएको थियो र यसको सुरुवात तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवले गरे । ‘यादव श्रममन्त्री भएका बेला पहिलोपटक २०७६ माघ १५ मा मन्त्रीस्तरीय निर्णय गरी रकम मलेसिया लैजान स्वीकृति दिएको देखिएको छ,’ अनुसन्धानमा सङ्कलन भएको दस्ताबेज भन्छ ।
तत्कालीन मन्त्री यादवको सोही निर्णयका आधारमा उनको पालामा चारपटक रकम मलेसिया गयो– २०७६ फागुन १५ मा ६ लाख ९३ हजार पाउन्ड, चैत १० मा २ लाख ४८ हजार पाउन्ड, २०७७ जेठ १९ मा २ लाख ४५ हजार ९४६ पाउन्ड र साउन १२ मा २ लाख १३ हजार ६५८ अमेरिकी डलर । अन्तिम रकमान्तर दूतावासको सन् २०२० जुन १६ को पत्रसँग जोडिएको छ, जसमा फेब्रुअरी १३ देखि २९ सम्म मात्र ११,८२८ श्रमिकको परीक्षण भएको भनिएको थियो ।
त्यसपछि श्रममन्त्री भए– गौरीशङ्कर चौधरी, विमलप्रसाद श्रीवास्तव र कृष्णकुमार (किसन) श्रेष्ठ । तर उनीहरूको पालामा भने रकम विदेश गएको देखिँदैन ।
यही बीच म्याक्रोटेककै सञ्चालक तथा सेयरधनी खड्का र भट्टराईबीच विवाद बढ्यो । २०७९ जेठ ६ मा भट्टराईले अर्थ मन्त्रालयमा निवेदन दिए । उनले करिब ६०,००० श्रमिकको मेडिकल जाँचबाट उठेको १८ करोड ९८ लाख ४० हजार रुपैयाँ सनराइज बैंक, मेगा बैंक र एनसीसी बैंकमा रहेको, मलेसियाबाट नयाँ माग नआए पनि मेडिकल जारी रहेको र साझेदार खड्काले आफ्नो सहमतिबिना त्यो रकम मलेसिया पठाउन लागेको भन्दै रकम रोक्का गर्न माग गरे ।
भट्टराईको उजुरीमा सुनुवाइ र अनुसन्धान भएन । बरु तीन महिनापछि रकमान्तर फेरि सुरु भयो । त्यहीबीचमा श्रममन्त्री भएर आएका थिए– शेरबहादुर कुँवर । उनको पालामा पाँचपटक रकम मलेसिया गयो– २०७९ भदौ १४ मा १ लाख ३५ हजार ३७५ डलर, असोज ११ मा ६ लाख ६६ हजार ९३६ डलर, कात्तिक २४ मा ७ लाख ३५ हजार ८०३ डलर र मङ्सिर १६ मा ७ लाख ८० हजार ९८९ पाउन्ड ।
कुँवरको मन्त्रीका रूपमा अन्तिम दिन पनि रकम ट्रान्सफर भएको थियो । देउवा नेतृत्वको सरकार हटेर पुष्पकमल दाहाल प्रधानमन्त्री बनेकै दिन पुस ११ मा १७ लाख ४९ हजार ३०९ पाउन्ड ट्रान्सफर गरिएको थियो । सीआईबीका अनुसार यादव र कुँवर दुवैले दुई–दुईपटक मन्त्रीस्तरीय निर्णय गरेर रकम पठाउने स्वीकृति दिएका थिए ।
कुँवरपछि २०७९ माघ ३ मा श्रममन्त्री बने डीपी अर्याल । उनी मन्त्री बनेको दुई दिनपछि नै माघ ५ मा ९ लाख २५७ डलर मलेसिया गयो। यसका लागि नयाँ निर्णय गरिएको थिएन । बरु कुँवरकै पालाको निर्णयअनुसार रकम पठाउन राष्ट्र बैंकलाई पत्र लेखिएको छ ।
अर्याल २२ दिनमै पदबाट हटे । उनले राजीनामा दिएपछि पनि २०७९ फागुन १५ मा १७ लाख १ हजार ५८२ डलर मलेसिया पठाउन मन्त्रालयबाट पत्राचार भएको पाइएको छ, जतिबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका थिए ।
त्यसपछि श्रममन्त्री भए शरतसिंह भण्डारी । उनको पालामा पाँचपटक रकम मलेसिया गयो– २०८० वैशाख ११ मा १५ लाख ९९२ डलर, साउन २ मा ७ लाख ८८ हजार ८४ डलर, कात्तिक २ मा ५ लाख ५२ हजार २१५ डलर र माघ ९ मा ४ लाख ८४ हजार ५४४ डलर । उनले अलग्गै निर्णय नगरे पनि अघिल्ला मन्त्रीको निर्णयकै आधारमा रकम पठाइरहेको सीआईबीको भनाइ छ ।
एक वर्ष एक महिनापछि २०८० फागुन २३ मा अर्याल श्रममन्त्री भएर फर्किए । २०८१ असार ३१ सम्म उनी श्रममन्त्री हुँदा थप दुईपटक रकम गयो– २०८१ वैशाख २४ मा ६ लाख ५४ हजार ३९० डलर र जेठ ९ मा ३६ हजार ५९९ डलर ।
अन्तिम रकमान्तर सन् २०२४ अप्रिलमा परीक्षण गरिएका २,२३९ श्रमिकबापतको थियो । सोही दिन दूतावासले राष्ट्र बैंकलाई पत्र लेखेर त्यही सङ्ख्या पुष्टि ग¥यो र मे २०२४ देखि भने मलेसियाले श्रमिक भर्ना रोकेको जानकारी दियो । अर्यालको पालामा गएका तीनै रकमान्तर अघिल्ला मन्त्रीको निर्णयअनुसार भएको लेखिएको छ ।





















