images
images
  • अर्जेन्टिनामा थप मुद्रा छाप्न केन्द्रीय बैंकमाथि अंकुश: राजनीतिक हस्तक्षेपको अन्त्य गरेको राष्ट्रपति कार्यालयको दाबी

    काठमाडौं– अर्जेन्टिनाको संसद्ले राष्ट्रपति हाभियर मिलेईले अघि सारेका नीतिगत सुधारलाई कार्यान्वयन गर्ने उद्देश्यले विभिन्न विधेयक अघि बढाएको छ। यसअन्तर्गत सरकारी खर्च धान्न केन्द्रीय बैंकले थप मुद्रा छाप्न नपाउने व्यवस्था पनि गरिएको छ।

    बिहीबार अर्जेन्टिनाको तल्लो सदन प्रतिनिधिसभाले केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अन्तिम स्वीकृति दिएको हो। विधेयकमा केन्द्रीय बैंकको ‘प्रमुख र आधारभूत दायित्व’ देशको मुद्राको मूल्य स्थिर राख्नु हुने उल्लेख छ।

    यसअघिका सरकारहरूले सरकारी खर्च धान्न केन्द्रीय बैंकमार्फत थप मुद्रा छाप्ने गरेका थिए। त्यसले अर्जेन्टिनामा अत्यधिक मुद्रास्फीति बढाउन योगदान पुर्‍याएको थियो। सन् २०२३ मा त्यहाँ मुद्रास्फीति २०० प्रतिशतभन्दा माथि पुगेको थियो।

    स्वतन्त्रतावादी अर्थशास्त्री मिलेई सन् २०२३ मा अनियन्त्रित मुद्रास्फीति नियन्त्रण गर्ने र सरकारी खर्च कटौती गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेका थिए।

    उनको नेतृत्वमा मुद्रास्फीति घटेको छ। तर गरिबी भने बढेको छ। पछिल्ला महिनाहरूमा आर्थिक गतिविधि सुस्त बनेपछि अर्जेन्टिना आर्थिक मन्दीतर्फ उन्मुख भइरहेको हुन सक्ने अर्थशास्त्रीहरूले आकलन गरेका छन्।

    यद्यपि केन्द्रीय बैंकसम्बन्धी विधेयक सिनेटबाट पारित भएपछि राष्ट्रपति कार्यालयले त्यसको स्वागत गरेको छ।

    राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यसले केन्द्रीय बैंकमा झन्डै दुई दशकदेखि हुँदै आएको राजनीतिक हस्तक्षेपको अन्त्य गरेको छ।’

    सन् १९३५ मा स्थापना भएको केन्द्रीय बैंकले अहिलेसम्म ‘९१ वर्षको लुटपाट, सम्पत्ति हरण, दण्डहीनता र संस्थागत क्षय’ भोगेको पनि वक्तव्यमा उल्लेख छ।

    प्रतिनिधिसभामा विधेयकको पक्षमा १४१ मत परेको थियो भने विपक्षमा कुनै मत परेन। ९९ सांसद मतदानमा तटस्थ बसेका थिए।

    यसअघि सिनेटले पनि विधेयक पारित गरेको थियो। तर सिनेटले केन्द्रीय बैंकका गभर्नर हटाउन संसद्का दुवै सदनमा दुईतिहाइ बहुमत अनिवार्य हुने व्यवस्था भने हटाएको थियो। राष्ट्रपति मिलेईले उक्त व्यवस्था विधेयकमा राख्न चाहेका थिए।

    प्राथमिक निर्वाचन स्थगित गर्ने विधेयक पनि अघि बढ्यो

    बिहीबार नै अर्जेन्टिनाको सिनेटले निर्वाचन प्रणालीमा सुधार गर्ने उद्देश्यसहित प्राथमिक निर्वाचन स्थगित गर्ने विधेयक पनि अघि बढाएको छ।

    तर केन्द्रीय बैंकसम्बन्धी विधेयक जस्तो यो विधेयकले अन्तिम रूप पाइसकेको छैन। यसलाई कार्यान्वयनमा लैजान प्रतिनिधिसभाले पनि पारित गर्नुपर्नेछ।

    अर्जेन्टिनामा अर्को राष्ट्रपतीय निर्वाचन हुन एक वर्षभन्दा कम समय बाँकी रहँदा यो विधेयक अघि बढाइएको हो। आगामी अक्टोबर २४ मा हुने निर्वाचनमा मिलेई पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने अपेक्षा गरिएको छ।

    आलोचकहरूले भने प्राथमिक निर्वाचन स्थगित गर्ने प्रस्तावलाई मिलेईले आफ्नो चुनावी अभियानमा सुरुमै आउन सक्ने चुनौती टार्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

    उनीहरूका अनुसार प्राथमिक निर्वाचनमा कमजोर नतिजा आएमा आमनिर्वाचनअघि मिलेईको राजनीतिक गति कमजोर हुन सक्छ। त्यसले अर्थतन्त्रमा समेत प्रतिकूल उतारचढाव ल्याउन सक्छ। आर्थिक मितव्ययिताको नीति लागू गर्दै आएका मिलेईले यसअघि पनि आफ्नो कार्यक्रमलाई लिएर जनअसन्तुष्टिको सामना गर्दै आएका छन्।

    बिहीबार अघि बढाइएको विधेयकले राजनीतिक दललाई उपलब्ध गराइने सार्वजनिक वित्तीय सहायता घटाउने र आमनिर्वाचनअघि राष्ट्रपतीय उम्मेदवारबीच अनिवार्य रूपमा गराइने बहसको व्यवस्था हटाउने प्रस्ताव पनि गरेको छ।

    सिनेटमा विधेयकको पक्षमा ४३ र विपक्षमा २९ मत परेको थियो।

    राष्ट्रपति मिलेईको दल ‘ला लिबर्टाड अवान्जा’का सांसदहरूले निर्वाचन प्रणालीलाई सरल बनाउने उद्देश्यले विधेयक ल्याइएको बताएका छन्। तर, विपक्षीहरूले यसले लोकतान्त्रिक मान्यताहरू कमजोर पार्न सक्ने चेतावनी दिएका छन्।

    मिलेईका सम्भावित प्रतिस्पर्धीसमेत मानिने ब्युनस आयर्स प्रान्तका गभर्नर एक्सेल किसिलोफले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘मिलेई अब पुनः निर्वाचित हुने सम्भावना बढाउन धाँधली गर्दै लोकतन्त्रका नियम नै बदल्न चाहन्छन्।’

    –एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images