images
images
  • चुनावअघि सार्वजनिक जीडीपी तथ्यांक ‘नक्कली’ भएको ट्रम्पको आरोप, वाणिज्य विभागमाथि अनुसन्धानको माग

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनअघि आफ्नो वाणिज्य विभागले जानाजानी गलत आर्थिक वृद्धिदर सार्वजनिक गरेको आरोप लगाएका छन् । उनले यस विषयमा अनुसन्धान गर्नुपर्ने मागसमेत गरेका छन् ।

    ट्रम्पले आफूले दाबी गरे जस्तो ऐतिहासिक आर्थिक उन्नति नदेखाउने आर्थिक तथ्यांकमाथि बारम्बार प्रश्न उठाउँदै आएका छन् । उनको यस्तो व्यवहारले व्यवसायी, वित्तीय बजार र उपभोक्ताले लगानीसम्बन्धी निर्णय गर्दा आवश्यक पर्ने सरकारी तथ्यांकको विश्वसनीयतामाथि असर पार्न सक्ने चिन्ता बढाएको छ ।

    उनको पछिल्लो असन्तुष्टि वाणिज्य विभागले बुधबार सार्वजनिक गरेको आर्थिक तथ्यांकसँग सम्बन्धित छ । विभागले चालु वर्षको तेस्रो त्रैमासिक अवधिको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर वार्षिक आधारमा ४.३ प्रतिशत पुगेको संशोधित तथ्यांक सार्वजनिक गरेको थियो । यसअघि उक्त वृद्धिदर ३.४ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको थियो ।

    वाणिज्य विभागअन्तर्गतको आर्थिक विश्लेषण ब्युरोले तथ्यांकलाई थप सटीक बनाउन नियमित रूपमा संशोधन गर्दै आएको छ । जीडीपी, मासिक रोजगारी प्रतिवेदनलगायत आर्थिक तथ्यांकमा यसरी संशोधन हुनु सामान्य प्रक्रिया हो । यस्तो संशोधन राजनीतिक घटनाक्रम वा निर्वाचनको समय तालिकालाई ध्यानमा नराखी पूर्वनिर्धारित कार्यतालिकाअनुसार हुने गर्छ ।

    तर राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत यसलाई ‘ठूलो र जानाजानी गरिएको त्रुटि’ भन्दै आलोचना गरेका छन् । उनले नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर प्रदर्शन गरेको घटनासँग पनि यसलाई जोडेका छन् । उक्त निर्वाचनपछि डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेको थियो ।

    ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचनअघि सार्वजनिक गरिएका अर्थतन्त्रसम्बन्धी वास्तविक तथ्यांक नक्कली रहेको कुरा भर्खरै खुलासा भएको छ । तथ्यांक सार्वजनिक गर्ने सरकारी निकायका कर्मचारीले हिजो त्यसलाई सच्याएका छन् । सही तथ्यांक निर्वाचनअघि नै किन सार्वजनिक गरिएन ? म यस घटनाबारे तत्काल अनुसन्धान गर्न माग गर्दछु ।’

    यस विषयमा टिप्पणी माग्दा वाणिज्य विभागले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकामा थ्याङ्क्सगिभिङ पर्वका कारण बिहीबार अधिकांश सरकारी कार्यालय बन्द रहेका छन् ।

    आर्थिक तथ्यांक आफ्नो दाबीअनुकूल नआएपछि त्यसको विश्वसनीयतामाथि प्रश्न उठाउने ट्रम्पको यो पछिल्लो घटना हो । तर तथ्यांक संशोधन राजनीतिक उद्देश्यबाट प्रेरित भएको भन्ने उनको आरोप पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन ।

    यसअघि सन् २०२५ अगस्टमा कमजोर रोजगारी प्रतिवेदन सार्वजनिक भएपछि ट्रम्पले श्रम तथ्यांक ब्युरोका प्रमुखलाई पदबाट हटाएका थिए । उक्त प्रतिवेदनमा सन् २०२५ जुलाईमा अमेरिकामा जम्मा ७३ हजार रोजगारी थपिएको उल्लेख थियो ।

    साथै त्यसअघि सार्वजनिक गरिएका मे र जुन महिनाका रोजगारी सिर्जनासम्बन्धी तथ्यांकमा समेत संशोधन गर्दै पहिले अनुमान गरिएभन्दा २ लाख ५८ हजार कम रोजगारी थपिएको देखाइएको थियो ।

    त्यस समयमा ट्रम्पले रोजगारीसम्बन्धी प्रतिवेदनलाई ‘नक्कली’ र ‘हेरफेर गरिएको’ भन्दै आलोचना गरेका थिए ।

    राष्ट्रपति ट्रम्पले आफ्नो नेतृत्वमा अमेरिकी अर्थतन्त्रले तीव्र गति लिएको दाबी गर्दै आएका छन् । तर मतदाताहरूले भने अर्थतन्त्र राम्रो अवस्थामा रहेको उनको दाबीलाई समर्थन नगरेको निर्वाचनसम्बन्धी सर्वेक्षणले देखाएको छ ।

    एसोसिएटेड प्रेसको मतदाता सर्वेक्षणअनुसार मध्यावधि निर्वाचनमा सहभागी ७६ प्रतिशत मतदाताले अमेरिकी अर्थतन्त्रको अवस्था ‘त्यति राम्रो छैन’ वा ‘खराब’ रहेको बताएका थिए । त्यस्तै करिब दुईतिहाइ मतदाताले ट्रम्पका आफ्नै नीतिका कारण महँगी बढेको धारणा व्यक्त गरेका थिए ।

    ट्रम्पले सामाजिक सञ्जालमा गरेको पछिल्लो टिप्पणीमा भने बुधबार संघीय सरकारी निकायले सार्वजनिक गरेको अर्को महत्त्वपूर्ण आर्थिक तथ्यांकबारे उल्लेख गरेका छैनन् । उक्त तथ्यांकअनुसार मुद्रास्फीति मापन गर्ने प्रमुख सूचकमध्ये एक व्यक्तिगत उपभोग खर्च मूल्य सूचकांक (पीसीई) अक्टोबरमा वार्षिक आधारमा ३.८ प्रतिशत पुगेको थियो । यो सूचकले अमेरिकामा मुद्रास्फीतिको गति बढेको देखाएको थियो ।

    -फ्लोरिडा/एपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images