काठमाडौं– यमनको ताइज प्रान्तस्थित अल–तुर्बाह सहरमा साउदी अरबले गरेको हवाई आक्रमणमा बालबालिकासहित ११ जना सर्वसाधारणको मृत्यु भएको हूथी विद्रोही समूहद्वारा सञ्चालित समाचार एजेन्सी सबाले जनाएको छ ।
सबाका अनुसार स्थानीय आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणमा अधिकांश बालबालिकाको मृत्यु भएको छ । स्थानीय स्रोतलाई उद्धृत गर्दै सबाले उद्धार टोलीले घटनास्थलबाट हालसम्म आठ जनाको शव निकालेको र अन्य तीन जना भग्नावशेषमा पुरिएको अवस्थामा बेपत्ता रहेको जनाएको छ ।
यद्यपि, अल जजिराले उक्त घटनासम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । घटनाबारे साउदी नेतृत्वको सैन्य गठबन्धनले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्





















