काठमाडौं– कुकुर र बिरालोका लागि तयार गरिएका विभिन्न प्रकारका सङ्गीतका प्ले–लिस्टहरू अनलाइनमा सजिलै भेटिन्छन्। तर के त्यस्ता सङ्गीतले साँच्चै घरपालुवा जनावरलाई तनावमुक्त र शान्त बनाउन मद्दत गर्छन् ?
बीबीसीकी फोटो सम्पादक सेरेनिटी स्ट्रुलले आफ्नो कुकुर मार्गोटलाई उद्धार गरेर घर ल्याउँदा नै थाहा पाएकी थिइन् कि तीन वर्षे पिटबुल प्रजातिको उक्त कुकुरमा चिन्ताको समस्या थियो ।
स्टुल भन्छिन्, ‘आश्रयस्थलले मार्गोटलाई लजालु र बालबालिकासँग मिल्ने कुकुर भनेर चिनाएको थियो। तर अन्य कुकुरको वरिपरि भने ऊ डराउने र असहज महसुस गर्ने खालकी थिई ।’
मार्गोटलाई यसअघि प्रोज्याक्स नामक औषधि दिइएको थियो । त्यसका कारण उसलाई छारे रोग जस्तो समस्या देखिन थालेपछि औषधि दिन बन्द गर्ने निर्णय गरिएको थियो । मार्गोटलाई घर ल्याएपछि स्ट्रुलले छिट्टै बुझिन् कि उसको सबैभन्दा ठुलो डर एक्लै छोडिनु थियो । उनले विभिन्न प्रशिक्षक र चिकित्सकसँग परामर्श गरिन् । साथै कुकुरलाई शान्त पार्ने अनेक उपाय पनि अपनाइन् । तर कुनै उपाय प्रभावकारी भएन ।
अन्ततः एउटा उपायले काम गर्यो- शास्त्रीय सङ्गीत वा तीव्र ताल वाद्य नभएका अन्य वाद्य सङ्गीत बजाउनु । मार्गोटका एक प्रशिक्षकले स्ट्रुललाई ‘थ्रु अ डग्स इयर’ नामक सङ्गीत शृङ्खला प्रयोग गर्न सुझाव दिए । यो मुख्यतः पियानोमा आधारित र मन्द गतिका सङ्गीत रचनाहरूको सङ्ग्रह हो, जुन कुकुरको तनाव कम गर्न तयार गरिएको हो ।
मनोश्रवण विज्ञान अर्थात् मानिस तथा जनावरले ध्वनिलाई कसरी ग्रहण गर्छन् भन्ने विषयका विशेषज्ञ जोसुआ लिड्स र पशु स्नायुरोग विशेषज्ञ सुजन वाग्नरले उक्त सङ्गीत तयार गरेका हुन् । उनीहरूले कुकुरमा यसको प्रभावबारे अध्ययनसमेत गरेका छन् ।
उनीहरूले निजी घर तथा कुकुर राख्ने आश्रयस्थलमा रहेका १५० भन्दा बढी कुकुरको व्यवहार अवलोकन गरेका थिए । अध्ययनमा पियानोमा आधारित सङ्गीत सुनेपछि आश्रयस्थलका ७० प्रतिशतभन्दा बढी र घरमा रहेका ८० प्रतिशत कुकुरमा चिन्ताका लक्षण कम भएको पाइएको थियो ।
यस्ता लक्षणमा यताउता हिँडिरहने, शरीर काँप्ने र छिटो-छिटो सास फेर्ने व्यवहार समावेश थिए । स्ट्रुलले आफ्नो घरमा जडान गरिएको सुरक्षा क्यामेरामार्फत मार्गोटको व्यवहारमा आएको परिवर्तन तत्कालै देखिन् ।
उनका अनुसार पहिले मार्गोटलाई घरमा एक्लै छोड्दा भुक्ने गरेको भन्दै छिमेकीहरूले पटक–पटक सन्देश पठाउने गर्थे । अहिले अवस्था फेरिएको छ । मालिक घर बाहिर हुँदा मार्गोट यताउता हिँड्ने र भुक्ने गर्नुको सट्टा शान्त भएर सुत्छे । पृष्ठभूमिमा ब्राह्म्स वा बिथोभनको सङ्गीत बजिरहेको हुन्छ ।

स्टुल भन्छिन्, ‘कहिलेकाहीँ म बिहान ४ बजेसम्म घर फर्किएकी हुँदिनँ । ऊ त्यति बेलासम्म पनि शान्तसँग सुतिरहेकी हुन्छे ।’
अन्य अध्ययनहरूले पनि यस्तै निष्कर्ष निकालेका छन् । बेलफास्टस्थित क्विन्स विश्वविद्यालयले गरेको एउटा अध्ययनमा कुकुरमाथि तीन प्रकारका ध्वनिको प्रभाव परीक्षण गरिएको थियो। त्यसमा शास्त्रीय सङ्गीत, अडियो बुक र कुनै पनि आवाज नबजाइएको अवस्था (नियन्त्रण समूह) समावेश थिए । अध्ययनमा आश्रयस्थल तथा निजी घरमा रहेका कुकुरलाई सहभागी गराइएको थियो ।
कुकुरको व्यवहारमा आएको परिवर्तनलाई नजिकबाट अवलोकन गरेपछि अनुसन्धानकर्ताहरूले शास्त्रीय सङ्गीतले अत्यधिक तनावपूर्ण परिस्थितिमा उल्लेखनीय रूपमा शान्त पार्ने प्रभाव देखाएको निष्कर्ष निकाले । पशु चिकित्सककहाँ लैजाँदा वा लामो दूरीको कार यात्राका क्रममा यस्तो प्रभाव देखिन सक्छ ।
शास्त्रीय सङ्गीतका सबै शैली भने प्रभावकारी हुँदैनन् । प्रतिमिनेट ५० देखि ६० वा त्यसभन्दा कम ताल भएका, सरल संरचनाका र कम वा कुनै ताल वाद्य प्रयोग नगरिएका सङ्गीत बढी प्रभावकारी मानिन्छन् ।
यस्तो सङ्गीतले कुकुरको शरीरमा तनावको प्रतिक्रिया जनाउने हर्मोन कोर्टिसोलको मात्रा घटाउने देखिएको छ । यद्यपि यसले कसरी यस्तो प्रभाव पार्छ भन्ने वास्तविक कारणबारे अझै पर्याप्त जानकारी उपलब्ध छैन ।
अध्ययनकी सह-लेखिका तथा क्विन्स विश्वविद्यालय बेलफास्टकी पशु व्यवहार अनुसन्धानकर्ता डेबोरा वेल्स भन्छिन्, ‘यसको सबैभन्दा व्यावहारिक व्याख्या भनेको यस प्रकारको सङ्गीतमा स्वाभाविक रूपमै शान्त पार्ने गुण हुन सक्छ । सम्भवतः यसले मस्तिष्कमा आनन्ददायी मानसिक अवस्था सिर्जना गर्ने रसायनहरू निस्कन मद्दत गर्छ ।’
वेल्सले चिडियाखानामा राखिएका हात्ती र गोरिल्लासहित विभिन्न प्रजातिका जनावरमा पनि शास्त्रीय सङ्गीतको प्रभाव अध्ययन गरेकी छन् ।
उनका अनुसार चिडियाखानामा रहेका हात्ती र गोरिल्लाले सङ्गीत सुन्दा तिनीहरूको कल्याणमा सकारात्मक प्रभाव परेको देखिएको थियो । तिनीहरूमा एउटै व्यवहार बारम्बार दोहोर्याउने प्रवृत्ति तथा आक्रामकता कम भएको थियो । अन्य सम्भावित फाइदामा खानपान र निद्राको बानीमा सुधार, रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु तथा प्रजनन क्षमतामा वृद्धि हुनु पनि पर्छन् ।
जनावरको सुन्ने क्षमता मानिसको भन्दा फरक
जनावर र मानिसको सुन्ने क्षमता स्वाभाविक रूपमा फरक हुन्छ । कुकुरले मानिसको भन्दा करिब तीन गुणा फराकिलो ध्वनि आवृत्ति सुन्न सक्छन्। तिनीहरूले ६५ हजार हर्जसम्मका उच्च आवृत्तिका आवाज सुन्न सक्छन्। त्यसैले मानिसको कानले नसुन्ने उच्च आवाज तथा टाढाबाट आएका ध्वनिसमेत कुकुरले सुन्न सक्छन् ।
बिरालोको सुन्ने क्षमता झन् बढी हुन्छ । तिनीहरूले ७९ हजार हर्जसम्मका ध्वनि सुन्न सक्छन् । यही कारणले सडकमा टाढाबाट बजेको गाडीको हर्न वा आल्मुनियम फोइल मिच्दा निस्कने आवाजले समेत बिरालोलाई डराएर लुक्ने ठाउँतिर भाग्न बाध्य बनाउन सक्छ ।
बिरालोमा सङ्गीतले पार्ने शान्त प्रभावबारे भने अहिलेसम्म थोरै अध्ययन भएका छन् । एउटा अध्ययनले यस विषयमा महत्त्वपूर्ण सम्बन्ध देखाएको छ ।
अनुसन्धानकर्ताहरूले बन्ध्याकरण शल्यक्रियाका क्रममा बेहोस बनाइएका १२ वटा बिरालोको कानमा हेडफोन लगाएर क्रमशः तीन प्रकारका सङ्गीत सुनाएका थिए । ती सङ्गीतमा नताली इम्ब्रुग्लियाको ‘टर्न’, बार्बरको ‘अडाजियो फर स्ट्रिङ्स’ र एसी÷डीसीको ‘थन्डरस्ट्रक’ समावेश थिए ।
अध्ययनमा शास्त्रीय सङ्गीत सुनाउँदा बिरालोको श्वासप्रश्वासको गति सबैभन्दा कम भएको, मुटुको धड्कन सुस्त भएको र आँखाको नानी सबैभन्दा बढी फैलिएको पाइयो । यी तीन वटै अवस्थालाई शान्त प्रभावका सङ्केतका रूपमा लिइन्छ ।
शास्त्रीय सङ्गीतबाहेक अन्य सङ्गीत पनि उपयोगी
घरपालुवा जनावरलाई शान्त पार्न शास्त्रीय सङ्गीत मात्रै प्रभावकारी हुन्छ भन्ने होइन । सरल लय, मन्द गति र भारी ताल वाद्य नभएका रेगे तथा सफ्ट रक सङ्गीतले पनि आश्रयस्थलमा रहेका कुकुरलाई शान्त पार्न मद्दत गर्ने देखिएको छ ।
अर्को अध्ययनमा अस्पतालमा राखिएका ३५ वटा बिरालोको व्यवहार अवलोकन गरिएको थियो । त्यसमा वाद्य सङ्गीतले तिनीहरूको श्वासप्रश्वासको गति कम गरेको पाइयो । त्यसका लागि सङ्गीतमा अत्यधिक उच्च वा न्यून आवृत्तिका ध्वनि हुनु हुँदैन । पियानो, बाँसुरी र तार बाधबाट निस्कने ध्वनि यसका उपयुक्त उदाहरण हुन् ।
शान्त आवाजमा कथा वाचन गरिएका अडियोबुकले पनि घरपालुवा जनावरलाई शान्त पार्न सक्छन् भन्ने लाग्न सक्छ । अध्ययनले यो अनुमानलाई समर्थन गर्दैन । वेल्स सहलेखिका रहेको सन् २०२२ को एउटा अध्ययनमा मालिक केही समयका लागि घर बाहिर जाँदा ६० वटा कुकुरको व्यवहार अवलोकन गरिएको थियो । तिनीहरूलाई शास्त्रीय सङ्गीत वा अडियो बुक सुनाइएको थियो ।
अध्ययनअनुसार अडियोबुकले कुकुरलाई शान्त पार्न खासै प्रभाव पारेन । सङ्गीत सुन्दा कुकुरहरू बसेको वा सुतेको अवस्थामा देखिए पनि अडियो बुक बजिरहेको स्पिकरतिर एकटक हेरिरहने व्यवहार बढी देखियो ।
सबै जनावरमा सङ्गीतको प्रभाव समान हुँदैन
शास्त्रीय सङ्गीतले जनावरलाई शान्त पार्ने तथ्यलाई धेरै अध्ययनले समर्थन गरे पनि यसले प्रत्येक कुकुर, बिरालो वा हात्तीमा समान प्रभाव पार्छ भन्ने ग्यारेन्टी छैन । अहिलेसम्म भएका अधिकांश अध्ययन सीमित जनावरमा र छोटो अवधिका लागि गरिएका छन् । तीमध्ये धेरै अध्ययन आश्रयस्थल वा अस्पताल जस्ता वातावरणमा केन्द्रित छन्, जहाँ जनावरहरू सामान्य अवस्थाभन्दा बढी तनावमा हुन सक्छन् ।
शास्त्रीय वा वाद्य सङ्गीतभित्रै पनि धेरै उपशैली हुन्छन् । ती शैलीअनुसार जनावरमा पर्ने प्रभाव फरक हुन सक्छ । यसले अनुसन्धानलाई थप जटिल बनाएको छ । आवाजको प्रभावसम्बन्धी अनुसन्धानकर्ता तथा सङ्गीतकार जेनेट मार्लोले आफ्नै घरपालुवा जनावरमा यस्तो भिन्नता देखेपछि उनीहरूलाई शान्त पार्ने उद्देश्यले सङ्गीत तयार गर्न थालिन् । पछि उनले अन्य जनावरका लागि पनि सङ्गीत सिर्जना गरिन् ।
मार्लो भन्छिन्, ‘मैले कुकुर, बिरालो, घोडा तथा अन्य प्रजातिका जनावरको श्रवण क्षमताअनुसार विशेष सङ्गीत तयार गर्न र त्यसको प्रभाव परीक्षण गर्न थालेँ ।’
उनका अनुसार यस्तो विशेष सङ्गीत तयार गर्दा जनावरलाई उत्तेजित बनाउने ध्वनि आवृत्ति हटाउन, सङ्गीतको गति मिलाउन र ध्वनिको सामञ्जस्यलाई उनीहरूको श्रवण क्षमता अनुकूल बनाउन सकिन्छ । यसै क्रममा उनले विभिन्न सङ्गीत शैली समेटिएको ‘पेट अकुस्टिक्स’ नामक सङ्गीत सङ्ग्रह तयार गरिन् । यसलाई विभिन्न वैज्ञानिक अध्ययनहरूले पनि समर्थन गरेका छन् ।
आफ्नो घरपालुवा जनावरका लागि उपयुक्त सङ्गीत खोज्नुहोस्
तपाईँले ‘थ्रु अ डग्स इयर’, जेनेट मार्लोले तयार गरेका सङ्गीत वा आफैँले छनोट गरेको शास्त्रीय सङ्गीतको सङ्ग्रह प्रयोग गर्न सक्नुहुन्छ । आफ्नो घरपालुवा जनावरका लागि कुन सङ्गीत उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन केही परीक्षण र अनुभव आवश्यक पर्न सक्छ ।
मार्गोटको अनुभवले देखाए झैँ सही सङ्गीत छनोट गर्न सकेमा त्यसले घरपालुवा जनावरको व्यवहार र मानसिक अवस्थामा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ ।
-लन्डन/एजेन्सी
-तस्विर : एआई






















