काठमाडौं – न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत दबाबमा परेको छ। दोस्रो दिनको खेल समाप्त हुँदा भारतले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ११६ रन बनाएको छ ।
भारत अझै न्युजिल्यान्डभन्दा २४० रनले पछाडि छ। चार विकेट हातमा रहँदा भारतले फलोअन टार्न थप ४१ रन जोड्नुपर्नेछ।
भारतका लागि ध्रुव जुरेल ७ रन बनाएर क्रिजमा छन्। अहिलेसम्म भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेका छैनन् । वासिङ्टन सुन्दर १०, केएल राहुल २५, ऋषभ पन्त २३, शुभमन गिल १७, देवदत्त पडिक्कल २१ र यशस्वी जैसवाल शून्य रनमा आउट भए। न्युजिल्यान्डका काइल जेमिसन र ज्याकब डफीले समान एक–एक विकेट लिएका छन् ।
क्राइस्टचर्चमा टस जितेर भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड पहिलो इनिङ्समा ३५६ रनमा अलआउट भएको थियो । न्युजिल्यान्डका लागि टम ब्लन्डेलले सर्वाधिक ८९ रन बनाए भने कप्तान टम लाथमले ५९ रनको योगदान दिए ।
भारतका आकाश दीपले पाँच विकेट लिए। अंशुल कम्बोज र गुरनूर बरारले समान दुई विकेट लिँदा वासिङ्टन सुन्दरले एक विकेट हात पारे ।





















