काठमाडौं – गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखेका थिए ।
सो अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न पनि निर्देशन दिएका थिए ।
त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति प्राडा स्मृति कार्की, निर्देशक इन्द्रकुमार बिचौलियालगायत पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, सुधारका प्रयास तथा भावी योजनाबारे जानकारी गराएका थिए ।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे समेत जानकारी लिएका थिए । उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन उनले निर्देशन दिए ।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरेका छन् । उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम रहेको छ ।





















