images
images
  • स्कूल आकर्षक बनाऊँ, गाउँ जोगिन्छ

    नेपालका गाउँबाट सापेक्षतः सक्षम र सबल मानिसहरू पलायन भइरहेका छन् । हिमाल र पहाड मात्रै होइन; तराई मधेश पनि यो प्रवृत्तिबाट अलग रहेको छैन । पहाड र हिमालका गाउँहरू तीव्र गतिमा रित्तिंदै छन् । घरका ढोकामा ताल्चा झुन्डिएका छन् । खेतीयोग्य पाखा र बारीहरू बाँझिएका छन् । कुनै समय बालबालिका र क्रियाशील महिला-पुरुषको चहलपहलले भरिने गाउँका बाटाघाटा सुनसान हुँदैछन् । गाउँ छाड्नेहरूमा रोजगारी खोज्ने युवा मात्र छैनन्, छोराछोरीलाई ‘राम्रो शिक्षा’ दिलाउने सपना बोकेका अभिभावक पनि छन् । यसले गाउँका विद्यालयका कक्षाकोठा पनि खाली हुँदै गएका छन् ।

    विडम्बना, यसरी गाउँ रित्तिने क्रम रोक्नुपर्ने राज्यका कतिपय शैक्षिक नीतिले उल्टै त्यसलाई सघाइरहेका छन् । अहिले सरकारले ‘ठूला विद्यालय’, ‘नमूना विद्यालय’ र विद्यालय समायोजनका कार्यक्रमलाई शैक्षिक सुधारको प्रमुख उपाय बनाइरहेको छ । यसका लागि ठूलो धनराशि खर्च गरिरहेको छ । तर यस्तो नीति विद्यार्थी संख्या, भवन र भौतिक पूर्वाधारलाई शैक्षिक गुणस्तरको सूचक मान्ने प्रवृत्तिको द्योतक हो । र, यही नीतिले साना विद्यालय सक्ने, गाउँ रित्याउने क्रमलाई बढावा दिइरहेको छ ।

    ठूला तथा नमूना विद्यालय आफैंमा गलत अवधारणा नहुन सक्छन् । पर्याप्त शिक्षक, प्रयोगशाला, प्रविधि र शैक्षिक सुविधाले सिकाइ सुधार्न सघाउन सक्छन् । तर शहर र बाक्ला बस्तीमा उपयुक्त हुने विद्यालयको संरचना हिमाल र पहाडका छरिएका बस्तीमा उत्तिकै प्रभावकारी नहुन सक्छन् । अर्कोतिर, विद्यार्थी थोरै हुनु विद्यालयको असफलता होइन । साना विद्यालयहरू पनि दुर्गम बस्तीको जीवनरेखाको रूपमा रहेका हुन्छन् । अहिले पनि पहाड र हिमालका गाउँमा केही यस्ता विद्यालय पनि छन्, जसले सीमित स्रोतसाधनका बीच मौलिक र प्रभावकारी शैक्षिक अभ्यास गरिरहेका छन् । स्थानीय समुदायको सक्रियता, शिक्षकको समर्पण, प्रकृति र स्थानीय यथार्थसँग जोडिएको सिकाइ तथा स्थानीय ज्ञान र सीपको प्रयोग तिनका विशेषता हुन् । त्यस्ता विद्यालयमा बालबालिकाले पाठ्यपुस्तक मात्र होइन; आफ्नै भूगोल, संस्कृति, कृषि र जीवनपद्धतिसँग जोडिएर सिक्छन् । राज्यले प्रोत्साहन त यस्ता विद्यालयलाई दिनुपर्ने हो । तर, त्यस्तो हुनसकेको छैन ।

    विद्यालयमा गरिने खर्चलाई शिक्षाको मात्र होइन, सिंगो गाउँ-बस्तीको भविष्य निर्माणमा गरिएको लगानीका रूपमा बुझ्नुपर्छ । सरकारले गाउँमा सडक, बिजुली र सञ्चार मात्रै होइन, गुणस्तरीय शिक्षा पनि गाउँमै सुनिश्चित गर्ने नीति अंगीकार गर्नुपर्छ ।

    विद्यालय समायोजनका नाममा साना विद्यालय बन्द गर्दा त्यसको सामाजिक प्रभाव समेत हेरिनुपर्ने हुन्छ । विद्यालय टाढा भएपछि साना बालबालिकाको पठनपाठन खण्डित हुन सक्छ । यसले अभिभावकका अगाडि- बालबालिकाको पढाइ छुटाउने कि गाउँ छाड्ने भन्ने बाध्यात्मक छनोटको स्थिति सिर्जना गरिदिन्छ । केही आर्थिक सक्षमता भएकाहरू शहर पस्छन् । परिणामतः गाउँमा विद्यार्थी झन् घट्छन् र बाँकी विद्यालय पनि बन्द हुने जोखिम बढ्छ । यसरी विद्यालय समायोजन हुँदै जाँदा गाउँ रित्तिने थप कारण बन्न सक्छ । कैयौं ठाउँमा यस्तो भई पनि सकेको छ ।

    गाउँमा राम्रा विद्यालय भए बालबालिका पढाउनकै लागि शहर पस्नुपर्ने बाध्यता घट्छ । अझ प्रकृति, समुदाय र जीवनोपयोगी सिकाइसँग जोडिएका उत्कृष्ट विद्यालय विकास गर्न सकिए शहरका अभिभावक समेत छोराछोरी पढाउन गाउँतर्फ आकर्षित हुन सक्छन् । यसरी गाउँका विद्यालय राम्रो बनेर गाउँहरू गुलजार भएका उदाहरण हामीकहाँ अहिले पनि छन् । त्यसैले गाउँका विद्यालयलाई शहरका विद्यालय जस्तो होइन, आफ्नै विशेषतामा उत्कृष्ट बनाउने नीति चाहिएको छ । सरकारले साना विद्यालयको गुणस्तर सुधारका लागि छुट्टै योजना ल्याउनुपर्छ । बहुकक्षा शिक्षण, स्थानीय पाठ्यक्रम, प्रविधिमैत्री सिकाइ, पर्याप्त शिक्षक र समुदायको सहभागितालाई प्राथमिकता दिनुपर्छ । राम्रो अभ्यास गरिरहेका साना विद्यालयको खोजी, अध्ययन र दस्तावेजीकरण गरी तिनका अनुभव अन्यत्र विस्तार गर्नुपर्छ । विद्यालयहरू गाभ्नुअघि बालबालिकाको पहुँच, भौगोलिक कठिनाइ, समुदायको आवश्यकता र बसाइँसराइमा पर्न सक्ने सम्भाव्य प्रभाव बारे पनि अध्ययन गरिनुपर्छ ।

    विद्यालय केवल पढ्ने ठाउँ मात्र नभएर, गाउँको सामाजिक र सांस्कृतिक जीवनको केन्द्र पनि हो । विद्यालयमा बालबालिका हुँदा परिवार बस्छन्, खेतीपाती चल्छ, स्थानीय अर्थतन्त्र सक्रिय हुन्छ । त्यसैले विद्यालयमा गरिने लगानीलाई शैक्षिक खर्च मात्र होइन, सिंगो गाउँ-बस्तीको भविष्य निर्माणमा गरिएको लगानीका रूपमा बुझ्नुपर्छ । सरकारको ध्याउन्न गाउँमा सडक, बिजुली र सञ्चार मात्रै पु¥याउने हुनुहुँदैन; गुणस्तरीय शिक्षा पनि गाउँमै सुनिश्चित गर्ने नीति अंगीकार गर्नुपर्छ ।

    राज्यले विद्यालयलाई बोझ होइन, सम्भावनाका रूपमा हेर्नुपर्छ । जुन विद्यालय कमजोर छन्, तिनलाई सुधार गर्नुपर्छ । जहाँ राम्रा अभ्यास भइरहेका छन्, तिनलाई प्रोत्साहन गर्नुपर्छ । अहिले हामीलाई विद्यालय बचाएर गाउँ रित्तिनबाट जोगाउने नीति चाहिएको छ । विद्यालय गतिलो बनाएर गाउँहरू रित्तिनबाट जोगाउन अवसर सधैंभरि रहँदैन; सरकारले बुझोस् ।

    -‘शिक्षक मासिक’ कात्तिक-मंसिर २०८३ को शिक्षासम्बन्धी समसामयिक सम्पादकीयबाट साभार

    प्रतिक्रिया दिनुहोस्
    images
    images