काठमाडौं – जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । ढोरपाटन उपत्यका गएको बिहीबारदेखि केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ । बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् प्रसारण लाइन नियमित सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण शाखाका प्रमुख दिलिप मरासिनीले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणको १८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त प्रसारण लाइन करिब ३५ किलोमिटर लामो छ । लाइन विस्तारको काम सम्पन्न भए पनि विभिन्न प्राविधिक समस्याका कारण विद्युत् सञ्चालनमा आउन सकेको थिएन । प्रसारण लाइनको आवश्यक मर्मत तथा प्राविधिक समस्या समाधानपछि विद्युत् सेवा सञ्चालनमा आएको हो ।
वितरण केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मत गरेपछि विद्युत् आपूर्ति सुरु भएको हो । ढोरपाटनमा विद्युत् पुगेपछि यहाँको जनजीवन सहज हुने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । लघुजलविद्युत् र सोलारमा निर्भर ढोरपाटन उपत्यकामा मौसम खराब हुँदा सञ्चार सम्पर्कसमेत विच्छेद हुँदै आएको थियो ।
बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त प्रसारण लाइन सञ्चालनमा आएसँगै बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन् । त्यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् ।
वितरण केन्द्रका प्रमुख मरासिनीका अनुसार अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बुर्तिबाङस्थित नो लाइट शाखामार्फत आवेदन दिन सक्नेछन् । ढोरपाटनमा विद्युत् पुगेपछि अन्धकार रहेको निसेलढोरमा विद्युत् पुर्याउने बाटो खुलेको छ ।
विद्युत् सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भएको छ । तीन हजार मिटर उचाइमा रहेको ढोरपाटनमा केन्द्रीय विद्युत् पहुँच पुगेपछि स्थानीय बासिन्दाको जनजीवन, पर्यटन, उद्योग तथा आर्थिक गतिविधिमा सहज हुने अपेक्षा गरिएको छ ।





















