काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र आन्दोलनरत डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन नेपालबीच भएको आठबुँदे सहमतिसँगै नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली संशोधनको तयारी अघि बढाइने भएको छ ।
सहमतिअनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा ४(१)(च) बमोजिम दर्तावाला स्वास्थ्य व्यवसायीहरूले आफूमध्येबाट निर्वाचन गर्ने चार जना सदस्यको चयन प्रक्रियालाई सहज, समावेशी तथा सबै तहका स्वास्थ्य व्यवसायीको सहभागिता सुनिश्चित हुने गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावलीको नियम ३१९क० मा संशोधन गरिने भएको छ ।
नियमावली संशोधनकै क्रममा परिषद्को संरचना र पदाधिकारीको कार्यकालसम्बन्धी अस्पष्टता हटाउन पनि पहल गरिने सहमतिमा उल्लेख छ । ऐनको दफा ४ बमोजिम समितिका सबै पदाधिकारीको पदावधि स्पष्ट नभएको लगायत ऐन तथा नियमावलीमा थप्न वा स्पष्ट पार्नुपर्ने विषय परिषद्ले मन्त्रालयलाई पठाउने र मन्त्रालयले संशोधन प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ ।
साथै, स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई सदस्यमा सिफारिस नगर्न सम्बन्धित काउन्सिललाई निर्देशन दिने तथा रिक्त सदस्य पदपूर्ति र पेसागत सङ्घ–संस्थाको थप प्रतिनिधित्वका लागि कानुनी प्रक्रिया अघि बढाउने विषय पनि सहमतिमा समेटिएका छन् ।
नियमावली संशोधनसँगै डेन्टल साइन्स हाइजेनिष्टको छुटेको पदनाम थप गर्न नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ मा संशोधन प्रक्रिया अघि बढाउने सहमति भएको छ । परिषद् ऐनको दफा १०९४० कार्यान्वयन गरी आन्तरिक सुशासन तथा परीक्षा प्रणाली व्यवस्थित गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।





















