images
images
  • महिला क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा, गण्डकीसहित तीन टोली बाहिरिए

    काठमाडौं – दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको लिग चरणका खेल सकिएका छन् । शुक्रबार गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो ।

    सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई–दुई अंक जोडेका थिए। तर, रनरेटका आधारमा सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाउँदा गण्डकी, मधेश र कोशी प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।

    शुक्रबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। उसका लागि सिमाना केसीले सर्वाधिक ४० रन बनाइन्। ३४ बल सामना गरेकी उनले तीन चौका प्रहार गरिन्। सम्झना पौडेलले अविजित ३८ रन जोडिन्।

    ओपनर दीपिका सापकोटा शून्यमा आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङले चार तथा चन्द्रमाया बराल र कुसुम गोदारले समान एक रन बनाए । सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन् भने अनु कडायत, करिश्मा थापा र यशु पाण्डेले एक–एक विकेट लिए ।

    ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले अनु कडायतको आक्रामक ब्याटिङमा जित निकालेको हो। ३३ बल खेलेकी अनुले दुई छक्का र सात चौकासहित महत्त्वपूर्ण रन जोडिन्। मनिषा बोहराले २५, यशु पाण्डेले ११, ऋतु कनौजियाले आठ, स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images