images
images
  • भारतका पूर्वप्रधानन्यायाधीश गवईले राष्ट्रपतिलाई लेखे पत्र, न्यायाधीश नियुक्तिमा उठाए प्रश्न

    काठमाडौं– भारतका पूर्वप्रधानन्यायाधीश बीआर गवईले राष्ट्रपति द्रौपदी मुर्मूलाई पत्र लेख्दै सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा प्रश्न उठाएका छन्।

    पूर्वप्रधानन्यायाधीश गवईले नोभेम्बर २७ मा लेखेको तीन पृष्ठ लामो पत्रमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने कलेजियम प्रणालीको कार्यप्रणालीमाथि प्रश्न उठाएका छन्।

    उनले एक विशेष सामाजिक समुदायका उम्मेदवारलाई नियुक्ति र बढुवामा प्राथमिकता दिइएको, जबकि अन्य समुदाय, विशेषगरी वञ्चित वर्गका उम्मेदवारलाई बेवास्ता गरिएको बताएका छन्।

    ‘बार एन्ड बेन्च’का अनुसार पत्रमा यस्तो नियुक्ति प्रक्रियाले वञ्चित वर्गका उम्मेदवारलाई अवसरबाट वञ्चित गरेको उल्लेख छ। अनुसूचित जाति, अनुसूचित जनजाति, अन्य पिछडा वर्ग, अल्पसंख्यक र महिलालाई न्यायपालिकामा पर्याप्त अवसर नदिइएको उनको भनाइ छ।

    उनले सामान्य वर्गका ती उम्मेदवारलाई समेत बेवास्ता गरिएको बताएका छन्, जो उक्त विशेष समुदायका होइनन्।

    गवईले आफू समाजको कुनै वर्गविरुद्ध नरहेको स्पष्ट पार्दै सामान्य वर्गका उम्मेदवारले पनि न्यायोचित रूपमा अवसर पाउनुपर्ने बताएका छन्।

    ‘मेरो भनाइलाई समाजको कुनै वर्गविरुद्धको रूपमा बुझ्नु हुँदैन। मेरो कुरा यति मात्रै हो कि सामान्य वर्गका उम्मेदवारले पनि उचित रूपमा अवसर पाउनुपर्छ’, उनले पत्रमा भनेका छन्।

    उनले सबै सामाजिक वर्गबीच सन्तुलन कायम राख्ने प्रयास आफूले सधैँ गर्दै आएको उल्लेख गरेका छन्। तर अहिलेको अवस्थाले एउटा समुदायलाई खुसी पार्न र लाभ पुर्‍याउन लगातार सिफारिस भइरहेको धारणा बलियो बनाएको उनको भनाइ छ।

    ‘मेरो सधैँको प्रयास सबै वर्गबीच सन्तुलन कायम राख्नु रहेको छ। तर अहिले यस्तो अवस्था बनेको छ, जसले एउटा मात्रै समुदायलाई खुसी पार्न र फाइदा पुर्‍याउन लगातार सिफारिस भइरहेको धारणा बलियो बनाउँछ’, उनले पत्रमा उल्लेख गरेका छन्।

    पूर्वप्रधानन्यायाधीश गवईले न्यायपालिकामा सबै सामाजिक वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न राष्ट्रपति मुर्मूलाई यस विषयमा उचित कदम चाल्न आग्रह गरेका छन्।

    -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images