काठमाडौं – भोजपुरको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्न जिल्लाका पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन् । पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भोजपुर नगरपालिका, टेम्केमैयुङ, आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले बजेट विनियोजन गरी कार्यक्रम अघि बढाएका हुन् ।
पाँचवटै स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ । अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले २०र२० लाख रुपैयाँ तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले पाँचरपाँच लाख रुपैयाँ छुट्याएका छन् ।
कार्यक्रम सञ्चालनका विषयमा थप निर्णय आगामी मङ्सिर २५ गते बस्ने बैठकले गर्ने अध्यक्ष राईले बताए । पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाबारे छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
स्थानीय तहबीचको सहकार्यले मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उहाँको विश्वास छ । अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा देश तथा विदेशका धावकलाई सहभागी गराउन सके पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने जनाइएको छ ।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ। पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत र उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई र उपाध्यक्ष वीरेन्द्र राई तथा आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो ।





















