काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आजदेखि मङ्सिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली भूमिगत गर्ने काम भइरहेकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
आयोजनाअन्तर्गत केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक काम गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रका फिडरबाट विद्युत् आपूर्ति रोक्न लागिएको हो । प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । जारी तालिकाअनुसार आज मङ्सिर १२ गते शनिबार आलोकनगर मार्ग, नापी विभाग क्षेत्र तथा आसपासका स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
त्यस्तै, मङ्सिर १३ गते आइतबार शंखमूल मार्ग, एभरेष्ट अस्पताल र मुक्ति टावर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने कार्यका क्रममा थप प्राविधिक काम गर्नुपर्ने भएकाले मङ्सिर १५ गतेसम्म विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गरिनेछ ।






















