images
images
  • दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

    काठमाडौं – कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न माग गरेका छन् । दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढ्दै गए पनि सोहीअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको उनीहरूको भनाइ छ ।

    सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी दूधको गुणस्तरका आधारमा किसानले अहिले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्र पाउँदै आएको जनाएको छ । उक्त मूल्यले उत्पादन लागत र किसानको श्रमको उचित प्रतिफल दिन नसकेको सहकारीको भनाइ छ ।

    सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए ।

    दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ ।

    “उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन् । त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ । भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ”, उनले भने ।

    उपभोक्ताको हित र बजारको अवस्थालाई समेत ध्यानमा राख्दै किसानले पाउने दूधको मूल्य कम्तीमा प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरिएको अध्यक्ष बरालले बताउनुभयो । दूधको मूल्य बढाउनुपर्ने मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले लामो समयदेखि सरकारसँग आग्रह गर्दै आए पनि माग पूरा नभएको बताइएको छ ।

    किसानले दूधको मूल्य वृद्धि गर्नुका साथै बिक्री गरेको दूधको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार तथा खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन र उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

    पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार यस अवधिमा दाना र चोकरको मूल्य २५ प्रतिशतभन्दा बढी बढिसकेको छ ।

    “दाना–चोकरको मूल्य महिनैपिच्छे १० देखि १५ रुपैयाँसम्म बढ्छ । हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ । यही अवस्था रहिरहने हो भने किसान कसरी बाँच्ने रु पशुपालनबाट पलायन हुनुको विकल्प छैन”, लामिछानेले भन्नुभयो ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि पर्खिरहेको बताउनुभयो । उपभोक्ताले बजारमा दूध खरिद गर्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उहाँको भनाइ छ ।

    “किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ । उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ । किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन रु” अधिकारीले प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images