दाङ– लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का चार जना मन्त्रीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि उनीहरूले पद त्याग गरेका हुन् ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी रहेका छन् ।
मुख्यमन्त्री आचार्यले आफ्नै सल्लाह र निर्देशनमा मन्त्रीहरूले राजीनामा दिएको बताएका छन् ।
कांग्रेससँगको सत्ता साझेदारी र सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमालेले मन्त्री परिवर्तनको निर्णय गरेको हो ।
यसअघि पनि मन्त्री हेरफेरको प्रयास भए पनि सहमति नजुटेपछि रोकिएको थियो ।
एमाले स्रोतका अनुसार नयाँ मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ ।
प्रदेश सरकारले मन्त्रालय संख्या घटाएर ८ कायम गर्ने तयारी गरेको छ भने नेतृत्व परिवर्तनबारे पनि राजनीतिक छलफल जारी छ ।























