काठमाडौं– सफलता रातारात प्राप्त हुँदैन, त्यसका लागि वर्षौंको संघर्ष, धैर्यता र निरन्तर मेहनत आवश्यक पर्छ ।
यसको जीवन्त उदाहरण हुन् सिद्धार्थ हस्पिटालिटी समूहका अध्यक्ष लक्ष्मण न्यौपाने ।
गुल्मीमा सामान्य परिवारमा जन्मिएका न्यौपानेको बाल्यकाल अभावबीच बित्यो ।
१३ जना दाजुभाइ तथा दिदीबहिनी भएको परिवारको आर्थिक अवस्था कमजोर थियो ।
यही कारणले रोजगारीको खोजीमा उनी भारत पुगे ।
भारतमा रहँदा उनले रेस्टुरेन्ट र होटलमा विभिन्न काम गरे ।
मेहनत र लगनशीलताका कारण उनी होटल व्यवसायमा हेड सेफसम्म बने ।
त्यसपछि साडी कम्पनीमा काम गर्दै व्यवस्थापक पदसम्म पुगे ।
राम्रो तलब र सुविधासहितको जागिर भए पनि आफ्नै देशमा केही गर्ने सपना भने उनको मनबाट हराएन ।
त्यही सपनालाई पछ्याउँदै भारतमा करिब एक दशक बिताएपछि उनी नेपाल फर्किए ।
नेपाल फर्किएपछि कैलालीको टिकापुरमा एउटा खाली जग्गा भाडामा लिएर बाँसको टहरा निर्माण गरे ।
त्रिपालले छोपिएको सो टहराबाट उनले ‘सिद्धार्थ स्न्याक्स’ नामक मम र चाउमिन पसल सञ्चालन सुरु गरे ।
सुरुआती दिनमा उनी आफैँ भान्से, वेटर र सरसफाइ कर्मचारी थिए ।
ग्राहकलाई खाना पकाएर खुवाउनेदेखि भाँडा माझ्ने कामसम्म उनी एक्लैले गर्थे ।
कामलाई सानो ठानेर लाज नमानेका न्यौपानेको मेहनतले विस्तारै रंग देखाउन थाल्यो ।
केही समयमै उनको सानो टहरोमा ग्राहकहरूको भीड लाग्न थाल्यो ।
व्यवसाय बढ्दै गएपछि उनले फुसको टहराबाट पक्की घरमा रेस्टुरेन्ट सारे ।
त्यसपछि होटल सञ्चालन गरे। होटल सफल भएपछि अर्को घर भाडामा लिएर गेस्टहाउस सञ्चालनमा ल्याए ।
व्यवसाय विस्तारको क्रममा उनले अझ ठूलो जोखिम उठाए ।
१६ लाख रुपैयाँमा जग्गा किनेर ‘सिद्धार्थ होटल’ सञ्चालनमा ल्याए ।
त्यतिबेला धेरैले उनलाई राम्रो चलिरहेको व्यवसाय छाडेर ठूलो लगानी नगर्न सुझाव दिएका थिए ।
कतिपयले व्यवसाय डुब्ने चेतावनीसमेत दिएका थिए ।
तर न्यौपाने आफ्नो लक्ष्यप्रति दृढ थिए ।
उनको होटल व्यवसायले अपेक्षाभन्दा राम्रो सफलता हासिल गर्यो ।
त्यसपछि उनले आफ्नो व्यवसाय टिकापुरबाट नेपालगञ्ज हुँदै काठमाडौंसम्म विस्तार गरे ।
आज उनले टहरोबाट सुरु गरेको व्यवसाय विशाल हस्पिटालिटी साम्राज्यमा रूपान्तरण भएको छ ।
सिद्धार्थ हस्पिटालिटी नेपालकै अग्रणी होटल समूहका रूपमा स्थापित भएको छ ।
समूहअन्तर्गत पाँचतारे होटलसहित दर्जनौं होटल तथा रिसोर्ट सञ्चालनमा छन् भने देशभर ठूलो मात्रामा जग्गा–जमिनसमेत रहेको छ ।
आफ्नो सफलताको रहस्यबारे न्यौपाने तीन सूत्र प्रस्तुत गर्छन्– धैर्यता, लगनशीलता र इमान्दारिता ।
उनको जीवनयात्राले कठिन परिस्थितिमा पनि सपना देख्न र त्यसलाई पूरा गर्न निरन्तर प्रयास गर्न सके सफलता सम्भव हुने सन्देश दिन्छ ।
एउटा सानो टहरोबाट सुरु भएको यात्राले आज नेपालको हस्पिटालिटी क्षेत्रमै उदाहरणीय सफलता हासिल गरेको छ ।






















