images
images
  • निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिको ५ दिन म्याद थप, प्रतिवेदन तयारी गर्दै समिति

    काठमाडौं– निवर्तमान गृहमन्त्री सुधन गुरूङको सेयर लगानी र सम्पत्तिको स्रोतबारे उठेका प्रश्नहरूको छानबिन गर्न गठित समितिको म्याद थपिएको छ ।

    समितिलाई थप पाँच दिनको समय दिइएको हो, जुन मंगलबारदेखि लागू भएको छ ।

    उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठन भएको उक्त समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन् ।

    समितिका सदस्य नेउपानेका अनुसार बयान तथा तथ्य संकलनलगायतका सबै काम सकिएको छ र अब प्रतिवेदन लेख्ने चरणमा प्रवेश गरिएको छ ।

    उनका अनुसार थपिएको पाँच दिनभित्र प्रतिवेदन तयार गर्ने काम सम्पन्न गरिनेछ ।

    वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको उक्त समितिलाई सुरुमा १५ दिनको समय दिइएको थियो, तर काम सम्पन्न नहुँदा म्याद थप गरिएको हो ।

    समितिले प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्रीसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको सत्यतथ्य अध्ययन तथा छानबिन गरिरहेको छ ।

    गत वैशाख ९ गते सुधन गुरूङले आफूमाथि उठेका प्रश्नहरूका कारण पदबाट राजीनामा दिएका थिए ।

    सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका दिपक भट्टसँग उनको व्यावसायिक सम्बन्ध देखिएपछि विवाद चुलिएको थियो ।

    आफू पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भनेर उनले राजीनामा दिएको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images