सन् २०१७ मा बेलायतको युरोपेली संघबाट बाहिरिने निर्णय (ब्रेक्जिट) र अमेरिकामा डोनाल्ड ट्रम्पको पहिलो निर्वाचन जितपछि राजनीतिक बहस निकै तात्यो ।
त्यसै वर्ष क्याम्ब्रिज विश्वविद्यालय प्रेसले ‘पपुलिज्म’ शब्दलाई वर्षको शब्द घोषणा गरेको थियो ।
करिब एक दशक बितिसक्दा पनि यो शब्दको चर्चा घटेको छैन, बरु झन् बढ्दै गएको छ ।
अहिले डोनाल्ड ट्रम्प पुनः अमेरिकी राजनीतिमा प्रभावशाली रूपमा फर्किनु, बेलायतमा ‘रिफर्म पार्टी’को लोकप्रियता बढ्नु, र अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईले सार्वजनिक कार्यक्रमहरूमा खर्च कटौतीको प्रतीकका रूपमा देखाउनुजस्ता घटनाले पपुलिज्म अझै विश्व राजनीतिमा शक्तिशाली रूपमा उपस्थित रहेको देखाउँछन् ।
तर वास्तवमा पपुलिज्म के हो ? यो वामपन्थी हो कि दक्षिणपन्थी ? र, के यो दीर्घकालीन राजनीतिक प्रवृत्ति हो ?
पपुलिज्म के हो ?
सरल भाषामा भन्नुपर्दा, पपुलिज्म यस्तो राजनीतिक सोच र व्यवहार हो जसले समाजलाई दुई मुख्य समूहमा विभाजन गर्छ, एकातर्फ ‘जनता’ र अर्कोतर्फ ‘सत्ता र सम्भ्रान्त वर्ग ।’
यस विषयमा विद्वानहरूबीच केही मतभेद छन् ।
पहिलो– मतभेद यो हो कि पपुलिज्मलाई विचारधारा मान्ने कि राजनीतिक रणनीति वा राजनीतिक शैली मान्ने ।
दोस्रो– मतभेद यो हो कि पपुलिज्म लोकतन्त्रका लागि खतरा हो कि सुधार ल्याउने शक्ति हो ।
केही विद्वानहरू यसलाई दुवै रूपमा देख्छन् ।
पपुलिज्म वामपन्थी कि दक्षिणपन्थी ?
पपुलिज्म कुनै एक विचारधारामा सीमित छैन ।
यो वामपन्थी र दक्षिणपन्थी दुवै राजनीतिक धारामा देखिन्छ ।
यसको मुख्य कारण के हो भने ‘जनता’ र ‘सत्ता वर्ग’को परिभाषा नेताहरूले आफ्नो राजनीतिक उद्देश्यअनुसार फरक–फरक रूपमा प्रस्तुत गर्न सक्छन् ।
दक्षिणपन्थी पपुलिज्म
दक्षिणपन्थी पपुलिस्ट नेताहरूले ‘जनता’लाई प्रायः सांस्कृतिक, धार्मिक वा राष्ट्रिय पहिचानका आधारमा परिभाषित गर्छन् ।
उनीहरू आप्रवासनको विरोध र परम्परागत मूल्यको संरक्षणलाई जोड दिन्छन् ।
उदाहरणका रूपमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकी जनता’लाई प्रायः श्वेत अमेरिकी पहिचानसँग जोडेर प्रस्तुत गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दू राष्ट्रवादको सन्दर्भमा ‘जनता’को परिभाषा प्रस्तुत गर्ने गरेका छन् ।
त्यसैगरी हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, बेलायतका नेता निगेल फराज, नेदरल्याण्ड्सका नेता गीर्ट विल्डर्स र अष्ट्रेलियाकी राजनीतिज्ञ पाउलिन ह्यान्सनलाई पनि दक्षिणपन्थी पपुलिज्मका उदाहरणका रूपमा लिइन्छ ।
यी नेताहरूले प्रायः सरकार, मिडिया, बौद्धिक वर्ग र अन्तर्राष्ट्रिय संस्थाहरूलाई ‘जनताको हितविपरीत काम गर्ने सम्भ्रान्त वर्ग’का रूपमा चित्रण गर्छन् ।
वामपन्थी पपुलिज्म
वामपन्थी पपुलिज्मले ‘जनता’लाई मुख्य रूपमा आर्थिक रूपमा उत्पीडित वर्ग—जस्तै मजदुर, निम्न आय भएका नागरिक र असमानताबाट प्रभावित समूहका रूपमा परिभाषित गर्छ ।
उदाहरणका रूपमा बोलिभियाका पूर्व राष्ट्रपति एभो मोरालेस, भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेज र संयुक्त राज्य अमेरिकामा सिनेटर बर्नी स्यान्डर्सको राजनीतिक अभियानलाई वामपन्थी पपुलिज्मसँग जोडेर हेर्ने गरिन्छ ।
स्पेनको पोदेमोस र ग्रीसको सिरिजा पार्टी पनि यसै धाराका उदाहरण हुन् । यी आन्दोलनहरूले आर्थिक असमानता, धनी र गरिबबीचको खाडल, र पुँजीवादी संरचनाबाट हुने शोषणलाई मुख्य समस्या मान्छन् ।
‘सत्ता वर्ग’को परिभाषा फरक किन हुन्छ ?
पपुलिस्ट राजनीतिमा ‘सत्ता वर्ग’को परिभाषा पनि फरक हुन्छ ।
दक्षिणपन्थी पपुलिस्टहरूले सरकार, मिडिया, विश्वविद्यालय, र संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूलाई आलोचना गर्छन् ।
उनीहरू यी संस्थाहरूलाई राष्ट्रिय हितविरुद्ध काम गर्ने शक्तिका रूपमा प्रस्तुत गर्छन् ।
वामपन्थी पपुलिस्टहरूले भने ठूला व्यवसाय, बहुराष्ट्रिय कम्पनी, वित्तीय संस्था र विश्व व्यापार प्रणालीलाई मुख्य शोषक शक्तिका रूपमा देख्छन् ।
दुवै दृष्टिकोणमा साझा कुरा भनेको सत्ता वर्गले जनताको हितमा काम गर्दैन भन्ने धारणा हो ।
के पपुलिज्म स्थायी बनिसकेको हो ?
हरेक चुनावमा जब पपुलिस्ट दल वा नेता सफल हुन्छन्, त्यसलाई ‘राजनीतिक भूकम्प’ वा ‘पपुलिस्ट लहर’ भनेर वर्णन गरिन्छ ।
तर वास्तविकता भने फरक छ ।
१९औं शताब्दीको राजनीति हेर्दा पपुलिज्म कुनै आकस्मिक घटना होइन, बरु राजनीतिक प्रणालीभित्र गहिरो रूपमा स्थापित हुँदै गएको प्रवृत्ति हो ।
आज पपुलिस्ट दलहरू केवल साना विरोधी समूहमा सीमित छैनन् ।
उनीहरू धेरै देशमा प्रमुख राजनीतिक शक्ति बनेका छन् ।
अमेरिका, भारत, इटाली, ग्रीस, नेदरल्याण्ड्सलगायत देशहरूमा उनीहरूको प्रभाव देखिन्छ ।
यसको प्रभावस्वरूप परम्परागत राजनीतिक दलहरूले पनि पपुलिस्ट शैली, भाषा र एजेन्डा अपनाउन थालेका छन् ।
यसले पपुलिज्मलाई अझ सामान्य र स्वीकार्य बनाएको छ ।
पपुलिज्म कुनै नयाँ वा अस्थायी राजनीतिक घटना होइन ।
यो आधुनिक लोकतान्त्रिक व्यवस्थाभित्र गहिरो रूपमा जरा गाड्दै गएको राजनीतिक प्रवृत्ति हो ।
यसलाई केवल आलोचना वा डरको रूपमा हेर्नुभन्दा यसको कारण आकर्षण र सामाजिक आधार बुझ्नु आवश्यक हुन्छ ।
किनभने पपुलिज्म आजको विश्व राजनीतिमा उपस्थित छ र निकट भविष्यमा पनि यसको प्रभाव कायम रहने सम्भावना उच्च छ । –द कन्भरसेसन


विश्व खबर 




















