काठमाडौं– हवाई यात्राको बढ्दो मागसँगै विश्वभरि पाइलटहरूको आवश्यकता पनि तीव्र रूपमा बढिरहेको छ ।
भारतमा मात्र सन् २०२४ मा नागर विमानन महानिर्देशनालय (डीजीसीए)ले १,३०० भन्दा बढी कमर्शियल पाइलट लाइसेन्स (सीपीएल) जारी गरेको थियो ।
आकर्षक तलब, अन्तर्राष्ट्रिय अवसर र प्रतिष्ठित पेशाका कारण धेरै युवाको रोजाइमा पाइलट पेशा पर्न थालेको छ ।
पाइलट बन्न के योग्यता चाहिन्छ ?
भारतमा पाइलट बन्न मुख्यतः दुईवटा मार्ग छन् ।
पहिलो– परम्परागत कमर्शियल पाइलट लाइसेन्स (सीपीएल) प्रणाली र दोस्रो, विभिन्न एयरलाइन्सले सञ्चालन गर्ने ‘क्याडेट पाइलट कार्यक्रम’।
दुवै प्रक्रियाका लागि आवेदकको उमेर कम्तीमा १८ वर्ष पुगेको हुनुपर्छ ।
साथै, कक्षा १२ मा भौतिकशास्त्र (फिजिक्स) र गणित विषयसहित न्यूनतम ५० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्छ ।
कला वा व्यवस्थापन संकायका विद्यार्थीले पनि खुला शिक्षा प्रणालीमार्फत फिजिक्स र गणितका विषय उत्तीर्ण गरेपछि आवेदन दिन सक्ने व्यवस्था छ ।
मेडिकल परीक्षण अनिवार्य
पाइलट प्रशिक्षण सुरु गर्नुअघि डीजीसीएबाट मान्यता प्राप्त चिकित्सकबाट ‘क्लास–२ मेडिकल’ प्रमाणपत्र लिनुपर्छ ।
त्यसपछि ‘क्लास–१ मेडिकल’ परीक्षण गरिन्छ, जसमा आँखा, मुटु, रक्त परीक्षण, नाक–कान–घाँटी लगायतका स्वास्थ्य जाँचहरू समावेश हुन्छन् ।
यी दुवै परीक्षणमा करिब १० हजार भारतीय रुपैयाँ खर्च हुने बताइएको छ ।
रंग छुट्याउन नसक्ने (कलर ब्लाइन्ड) व्यक्तिले भने पाइलट बन्न पाउँदैनन् ।
प्रशिक्षण प्रक्रिया कस्तो हुन्छ ?
योग्यता पूरा गरेपछि डीजीसीएले सञ्चालन गर्ने कमर्शियल पाइलट लाइसेन्स (सीपीएल) परीक्षा उत्तीर्ण गर्नुपर्छ ।
यो परीक्षा वर्षमा सामान्यतया चार पटक सञ्चालन गरिन्छ ।
यसपछि दुई चरणको प्रशिक्षण सुरु हुन्छ :
ग्राउन्ड ट्रेनिङ
फ्लाइट ट्रेनिङ
ग्राउन्ड ट्रेनिङमा मौसम विज्ञान, हवाई नियमावली, नेभिगेसन, रेडियो टेलिफोनी तथा प्राविधिक विषयहरू पढाइन्छ ।
प्रत्येक विषयमा न्यूनतम ७० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ ।
त्यसपछि डीजीसीएबाट मान्यता प्राप्त फ्लाइट ट्रेनिङ अर्गनाइजेसन (एफटीओ)मा भर्ना भई कम्तीमा २०० घण्टा विमान उडाएको अनुभव हासिल गर्नुपर्छ ।
क्याडेट पाइलट कार्यक्रम के हो ?
केही एयरलाइन्सले आफ्नै क्याडेट पाइलट कार्यक्रम सञ्चालन गर्छन् ।
यसमा कम्पनीले विद्यार्थी छनोट गरी सैद्धान्तिक र व्यावहारिक तालिम प्रदान गर्छ ।
उदाहरणका लागि, एयर इन्डियाले आफ्ना क्याडेटहरूलाई भारत र अमेरिकास्थित साझेदार प्रशिक्षण केन्द्रहरूमा सीपीएल तालिम तथा ‘टाइप रेटिङ’ उपलब्ध गराउने व्यवस्था गरेको छ ।
टाइप रेटिङ भनेको यात्रुवाहक जहाज सञ्चालन गर्न आवश्यक विशेष तालिम हो, जसले पाइलटलाई विशिष्ट प्रकारका विमान उडाउन योग्य बनाउँछ ।
प्रशिक्षणमा कति खर्च लाग्छ ?
पाइलट तालिम संसारका विभिन्न देशमा लिन सकिन्छ। खर्च र समय भने देशअनुसार फरक हुन्छ ।
भारतमा १४–१५ महिनाको तालिम, खर्च करिब ५०–५५ लाख भारतीय रुपैयाँ
अमेरिकामा १० महिनाको तालिम, खर्च करिब ५०–५२ लाख रुपैयाँ
दक्षिण अफ्रिकामा १२–१४ महिनाको तालिम, खर्च करिब ३५–४० लाख रुपैयाँ
विशेषज्ञहरूका अनुसार तालिमको अवधि निश्चित हुँदैन ।
मुख्य कुरा २०० घण्टा उडान अनुभव पूरा गर्नु हो ।
कसैले १० महिनामै पूरा गर्छन् भने कसैलाई बढी समय लाग्न सक्छ ।
एयरलाइन्समा कसरी जागिर पाइन्छ ?
तालिम पूरा भएपछि सम्बन्धित एयरलाइन्सले खुलाउने पदका लागि आवेदन दिन सकिन्छ ।
एयरलाइन्सहरूले आफ्नै लिखित परीक्षा र छनोट प्रक्रिया सञ्चालन गर्छन् ।
सुरुआती चरणमा पाइलटहरू ‘फर्स्ट अफिसर’ अर्थात् सह–पाइलटका रूपमा नियुक्त हुन्छन् ।
पछि ‘एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स’ (एटीपीएल) प्राप्त गरेपछि क्याप्टेन बन्न सकिन्छ ।
एटीपीएलका लागि कम्तीमा १,५०० घण्टा उडान अनुभव आवश्यक पर्छ ।
तलब कति हुन्छ ?
भारतमा एक फर्स्ट अफिसरले मासिक करिब १ लाख २५ हजारदेखि २ लाख ५० हजार भारतीय रुपैयाँसम्म तलब पाउने गर्छन् ।
त्यस्तै, क्याप्टेनको मासिक तलब सामान्यतया ४ लाखदेखि ८ लाख भारतीय रुपैयाँसम्म हुन सक्छ ।
अन्तर्राष्ट्रिय एयरलाइन्समा कार्यरत पाइलटहरूको आम्दानी अझ बढी हुने बताइन्छ ।
विशेषगरी मध्यपूर्वका देशहरूमा पाइलटहरूको उच्च माग रहेको छ ।
त्यहाँ फर्स्ट अफिसरले मासिक ८–९ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्न सक्ने जनाइएको छ ।
करियरका अन्य अवसर
पाइलटहरू केवल विमान उडाउनमै सीमित हुँदैनन् ।
उनीहरूले फ्लाइट इन्स्ट्रक्टर, फ्लाइट डिस्प्याचर, चार्टर्ड विमानका पाइलट वा एयरलाइन्सका प्रशिक्षण केन्द्रमा प्रशिक्षकका रूपमा समेत काम गर्न सक्छन् ।
लगानी ठूलो, अवसर पनि आकर्षक
पाइलट बन्ने सपना पूरा गर्न ठूलो आर्थिक लगानी आवश्यक पर्छ ।
सामान्य सीपीएल तालिममा ५५ लाखदेखि ८५ लाख भारतीय रुपैयाँसम्म खर्च हुन सक्छ भने केही एयरलाइन्सका क्याडेट कार्यक्रमको लागत १ करोड रुपैयाँभन्दा माथि पुग्न सक्छ ।
यद्यपि, धेरै विद्यार्थीले शैक्षिक ऋण (एजुकेशन लोन) लिएर तालिम पूरा गर्ने गरेका छन् ।
आकर्षक तलबका कारण अधिकांश पाइलटहरूले पाँचदेखि छ वर्षभित्र ऋण चुक्ता गर्न सक्ने अवस्था रहने विज्ञहरू बताउँछन् ।
बढ्दो हवाई सेवा, नयाँ विमानको आगमन र विस्तार हुँदै गएको विमानन उद्योगका कारण आगामी वर्षहरूमा पनि दक्ष पाइलटहरूको माग उच्च रहने अपेक्षा गरिएको छ । –बीबीसी हिन्दी






















