धनगढी– सुदूरपश्चिम प्रदेशमा फेरि सरकार परिवर्तनको चर्चा सुरु भएको छ ।
प्रदेश सभाको दोस्रो कार्यकालमै चार पटक सरकार फेरिइसकेको अवस्थामा अब पाँचौँ पटक सत्ता समीकरण बदलिने संकेत देखिएको हो ।
२०७९ यता एमालेका राजेन्द्रसिंह रावल, कांग्रेसका कमल बहादुर शाह, एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी र पुनः शाह मुख्यमन्त्री बनिसकेका छन् ।
अहिले कांग्रेस–एमाले गठबन्धनको सरकार रहे पनि माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीबीचको नयाँ एकताले सत्ता समीकरणमा दबाब बढाएको छ ।
नयाँ बनेको नेकपाले प्रदेश सभामा २१ सिटसहित आफूलाई सबैभन्दा ठूलो शक्ति दाबी गरेको छ ।
नेकपाका सांसद मानबहादुर धामीले संयुक्त सरकार वा पार्टी एकीकरणसम्मको छलफल भइरहेको बताएका छन् ।
यता कांग्रेस र एमाले भने केन्द्रको निर्णय कुरेर बसेका छन् ।
कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले हालकै समीकरणलाई निरन्तरता दिनुपर्ने बताएका छन् भने एमालेका मन्त्री वीरबहादुर थापाले माथिल्लो तहको निर्णयअनुसार अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
विश्लेषकहरूले बारम्बार सरकार फेरिँदा विकास, सुशासन र प्रशासनिक स्थायित्वमा गम्भीर असर परेको बताएका छन् ।
पटक–पटक मन्त्री र नेतृत्व फेरिँदा योजना कार्यान्वयन प्रभावित हुने, बजेट खर्च कमजोर हुने र प्रदेशप्रतिको नागरिक विश्वास घट्दै गएको उनीहरूको भनाइ छ ।























