काठमाडौँ – श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरिएको छ ।
पार्टीको कोशी प्रदेश समितिले जारी गरेको पत्रमा प्रदेशअन्तर्गत रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न भनिएको हो।
कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा ‘श्रम पिता’ भन्दै अध्यक्ष साम्पाङको तस्वीर प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।
पार्टीको उक्त निर्देशन सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। केहीले यसलाई संगठनात्मक निर्णयका रूपमा टिप्पणी गरेका छन् भने केहीले व्यक्तिकेन्द्रित राजनीतिक संस्कृतिको संकेतका रूपमा आलोचना गरेका छन्।






















