images
images
  • कामपामा सर्वसाधारणलाई टेक्न नदिएका बालेनले नक्सापासबिनै भिआईपी लिफ्ट बनाएको खुलासा

    काठमाडौं– काठमाडौं महानगरपालिकाले भाडामा लिएको काठमाडौं प्लाजा भवनमा नक्सा पास नगरी तथा आवश्यक स्वीकृति बिना लिफ्ट जडान र संरचनात्मक परिवर्तन गरेको पाइएको छ ।

    महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले यस सम्बन्धमा कानुनी प्रक्रिया पालना नभएको औंल्याएको हो ।

    प्रतिवेदन अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा काठमाडौं महानगरपालिकाले नै जारी गरेको भवन निर्माणसम्बन्धी कार्यविधि अनुसार कुनै पनि संरचना निर्माण वा हेरफेर गर्दा अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था भए पनि महानगरले उक्त प्रक्रिया पूरा नगरेको देखिएको छ ।

    महानगरपालिकाले नेपाल ट्रस्टसँग भाडामा लिएको काठमाडौं प्लाजा भवनको बाहिरी भागमा लिफ्ट जडान गर्दा नक्सा पास नगरेको र नेपाल ट्रस्टको पूर्वस्वीकृति समेत नलिएको प्रतिवेदनमा उल्लेख छ ।

    सम्झौताअनुसार भवनको बाहिरी स्वरूप परिवर्तन गर्नुअघि ट्रस्टको अनुमति अनिवार्य हुने व्यवस्था भए पनि सो पालना नभएको जनाइएको छ ।

    उक्त लिफ्ट जडान तथा रिपेयरिङ एण्ड लिफ्ट इन्स्टलेसन वर्क शीर्षकमा मूल्य अभिवृद्धि करसहित करिब ४ करोड २ लाख रुपैयाँको ठेक्का स्वीकृत गरी करिब ३ करोड ९९ लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गरिएको महालेखाले जनाएको छ ।

    image 1 768x395 1

    साथै सोही कामसँग सम्बन्धित थप करिब ७६ लाख रुपैयाँसमेत भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनका अनुसार यो लिफ्ट २०८१ साउनमा निर्माण सम्पन्न गरिएको थियो ।

    सो लिफ्ट महानगर प्रमुखका लागि विशेष प्रयोगमा राखिएको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको र नगर प्रहरीसमेत खटाइएको दाबी गरिएको छ ।

    पछि २०८२ माघमा मात्र उक्त लिफ्ट सर्वसाधारणका लागि खुला गरिएको जनाइएको छ ।

    महानगरपालिकाले २०७९ फागुनमा नेपाल ट्रस्टसँग काठमाडौं प्लाजा भवन मासिक करिब ६० लाख ५० हजार रुपैयाँ भाडामा लिने गरी सम्झौता गरेको थियो ।

    सम्झौताअनुसार अवधि सकिएपछि भवनभित्र जडान गरिएका लिफ्ट, पार्टेसन तथा फर्निचर महानगरकै स्वामित्वमा नआउने व्यवस्था रहेको पनि उल्लेख छ ।

    महालेखाको प्रतिवेदनले आर्थिक वर्ष २०८१र८२ मा काठमाडौं प्लाजाको आन्तरिक संरचना परिवर्तन, पार्टेसन, फर्निचर तथा मर्मतसम्बन्धी काममा करिब ६ करोड ९२ लाख रुपैयाँ खर्च भएको देखाएको छ ।

    विभिन्न निर्माण तथा आपूर्ति कम्पनीमार्फत यी खर्च गरिएको जनाइएको छ ।

    त्यसअनुसार लिफ्ट तथा मर्मतमा करिब ३ करोड ९९ लाख, आन्तरिक संरचना परिवर्तनमा करिब १ करोड ७३ लाख, फर्निचर र एसी जडानमा करिब ७८ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

    साना–साना संरचना तथा सेवा सुविधाका नाममा थप लाखौं रुपैयाँ खर्च भएको पनि देखाइएको छ ।

    महालेखाले यी सबै खर्च तथा निर्माण कार्यहरू विस्तृत आयोजना प्रतिवेदन, नक्सा पास र प्रतिस्पर्धी खरिद प्रक्रिया बिना गरिएको भन्दै सार्वजनिक खरिद तथा वित्तीय अनुशासन कमजोर भएको टिप्पणी गरेको छ ।

    साथै महानगरको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नभएको र लेखा व्यवस्थापनमा सुधार आवश्यक रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images