काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले संविधानले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने बाध्यकारी व्यवस्थालाई बेवास्ता गरेको पाइएको छ ।
१३ चैतमा गठन भएको सरकार यतिबेला संवैधानिक दायित्व पालनामा गम्भीर प्रश्नको घेरामा परेको हो ।
नेपालको संविधानको धारा ८१ अनुसार मन्त्रिपरिषद्का निर्णय, संघीय संसद्मा प्रस्तुत गरिने विधेयक, राष्ट्रपतिले मागेका विवरण, समसामयिक परिस्थिति तथा वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिलाई नियमित जानकारी गराउनुपर्ने व्यवस्था छ ।
विगतमा यी विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर लिखित तथा मौखिक जानकारी दिने अभ्यास रहँदै आएको थियो ।
तर प्रधानमन्त्री बालेन्द्र शाह ले शपथग्रहणपछि मन्त्री र प्रधानन्यायाधीशको शपथ समारोहबाहेक राष्ट्रपति रामचन्द्र पौडेल लाई भेट्न शीतलनिवास नगएको स्रोतहरूको दाबी छ ।
राष्ट्रपति कार्यालयनिकट स्रोतका अनुसार सरकार गठन भएयता मन्त्रिपरिषद्को बैठक १३ पटक बसिसकेको भए पनि ती बैठकका निर्णयबारे राष्ट्रपतिलाई औपचारिक जानकारी गराइएको छैन ।
अनौपचारिक रूपमा समेत संविधानअनुसार जानकारी दिने काम नभएको राष्ट्रपति कार्यालयको गुनासो छ ।
राष्ट्रपतिका एक सल्लाहकारका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘इग्नोर’ गर्ने प्रवृत्तिका कारण संवैधानिक व्यवस्था नै कमजोर बनाउने काम भइरहेको छ ।
उनका अनुसार मन्त्रिपरिषद्का निर्णय, परराष्ट्र सम्बन्धका गतिविधि तथा अन्य महत्वपूर्ण विषयमा राष्ट्रपतिलाई जानकारी नगराइनु संविधानको गम्भीर उल्लंघन हो ।
प्रधानमन्त्रीले हालसम्म अध्यादेश प्रमाणीकरणका लागि अनुरोध गर्दै एउटा पत्र पठाएको र गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि निमन्त्रणा दिएको बाहेक अन्य कुनै विषयमा पत्राचार नगरेको दाबीसमेत गरिएको छ ।
गणतन्त्र दिवसमा प्रधानमन्त्री मौन
सरकार गठन भएको सय दिनसम्म सार्वजनिक अभिव्यक्ति नदिने घोषणा गरेका प्रधानमन्त्री शाहले गणतन्त्र दिवसका दिन पनि सम्बोधन नगर्ने भएका छन् ।
सरकारले १५ जेठको गणतन्त्र दिवस समारोहका लागि प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
सरकारले आइतबार राष्ट्रपति पौडेललाई समारोहमा सम्बोधन गर्न अनुरोध गर्दै पत्राचार गरिसकेको छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिको निमन्त्रणाअनुसार राष्ट्रपति कार्यक्रममा सहभागी भएर सम्बोधन गर्ने जनाएको छ ।
समारोहको अध्यक्षता भने प्रधानमन्त्री शाहले गर्नेछन् ।
राष्ट्रपति–प्रधानमन्त्री सम्बन्ध सुधार्न दबाब
राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढेको विश्लेषण भइरहेका बेला शीतलनिवासमा सम्बन्ध सुधारका लागि पहल गर्नुपर्ने दबाबसमेत बढेको छ ।
विशेषगरी पूर्वराष्ट्रपतिहरूले राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीलाई बोलाएर रात्रिभोज वा विशेष कार्यक्रम आयोजना गर्न सुझाव दिएका छन् ।
शीतलनिवास स्रोतका अनुसार संविधानको धारा ८१ लामो समयसम्म निष्क्रियजस्तै बन्न नहुने भन्दै प्रधानमन्त्रीलाई संवादमा ल्याउन राष्ट्रपतिले पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।
पूर्वराष्ट्रपति रामवरण यादव ले समेत राष्ट्रपति कार्यालयका सल्लाहकारहरूसँग छलफल गर्दै प्रधानमन्त्रीको स्वागतमा रात्रिभोज आयोजना गर्न सुझाव दिएको स्रोतको दाबी छ ।






















