काठमाडौं– त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न दिइएको ३५ दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता गरेका छैनन् ।
विश्वविद्यालयले वैशाख ४ गते १७ वटा संस्था तथा निकायलाई जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गर्दै पत्राचार गरेको थियो ।
त्रिवि सामान्य प्रशासन महाशाखाका अनुसार १७ मध्ये ९ निकायले मात्रै लिखित जवाफ पठाएका छन् ।
तीमध्ये नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले आफूहरूले भाडामा लगाएको जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् ।
त्रिवि कार्यकारी परिषद्ले प्राध्यापक तथा कर्मचारी संगठनलाई उपयोगका लागि दिएको जग्गा पेट्रोल पम्प, होटल र नर्सरी सञ्चालनका लागि भाडामा लगाइएको थियो ।
विश्वविद्यालयले जग्गा फिर्ता गर्न ताकेता गरेपछि ती संगठनले भाडामा लिने पक्षलाई समेत ३५ दिने सूचना दिएका हुन् ।
प्रतिवेदनअनुसार त्रिवि प्राध्यापक संघले ८ रोपनी, नेपाल प्राध्यापक संघले ६ रोपनी १२ आना र कर्मचारी संघले ५ रोपनी जग्गा भाडामा लगाएका छन् ।
कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले जग्गा खाली गराउन भाडामा लिने पक्षलाई सूचना दिइसकेको बताए ।
तर केही संस्थाले भने जग्गा फिर्ता गर्न नसकिने स्पष्ट पारेका छन् ।
बीपी कोइराला मेमोरियल प्यानेटोरियम, ल्याबरोटरी स्कुल, आयुर्वेद अनुसन्धान केन्द्र, राधास्वामी सत्संग व्यास नेपाल, ग्लोबल आईएमई बैंक र नेत्रज्योति संघले त्रिविलाई पत्र पठाएर जग्गा खाली गर्न असमर्थ रहेको जनाएका हुन् ।
त्रिविको १०८ रोपनी जग्गा उपयोग गर्दै आएको ल्याबरोटरी स्कुलले भने भाडामा लिएर विद्यालय सञ्चालन गर्न तयार रहेको जनाएको छ ।
विद्यालयले त्रिविकै व्यवस्थापनमा सञ्चालन हुन सक्ने प्रस्तावसमेत अघि सारेको छ ।
नेपाल क्रिकेट संघ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, कीर्तिपुर नगरपालिका लगायत निकायलाई पनि त्रिविले जग्गा फिर्ता गर्न पत्राचार गरेको थियो ।
क्रिकेट मैदानको सम्झौता अवधि सकिएपछि नयाँ सम्झौता गरिएसँगै विश्वविद्यालयभित्र त्यसबारे बहस समेत सुरु भएको छ ।
सरकारद्वारा गठित खोजबिन समितिको प्रतिवेदनअनुसार त्रिविको करिब २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको छ ।
कीर्तिपुरस्थित केन्द्रीय कार्यालय परिसरमै मात्रै २१ संस्थाले करिब १ हजार रोपनी जग्गा भोगचलन गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
त्रिवि कार्यकारी परिषद्ले अतिक्रमित जग्गा फिर्ता लिने निर्णय गरिसकेको छ भने सरकारले आवश्यक परे कानुनी प्रक्रिया र सुरक्षा निकायको सहयोगमा जग्गा खाली गराउने चेतावनी दिएको छ ।






















