काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध रेड नोटिस जारी गर्न गरिएको नेपालको आग्रहलाई इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ ।
आवश्यक कानुनी आधार, सम्बद्ध कसुर र अनुसन्धानसम्बन्धी कागजात अपुग रहेको भन्दै इन्टरपोलले नेपालबाट पठाइएको अनुरोध फिर्ता गरेको हो ।
नेपाल प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूका अनुसार गत साता इन्टरपोलबाट जवाफ प्राप्त भएको हो ।
विभागले पहिलो पटक पठाइएको अनुरोधमा आवश्यक विवरण नपुगेको भन्दै फिर्ता आएपछि केही थप कागजात समावेश गरेर दोस्रो पटक पुनः अनुरोध गरेको थियो ।
तर, दोस्रो प्रयासमा पनि इन्टरपोलले पर्याप्त आधार नपुगेको निष्कर्ष निकाल्दै थप स्पष्टता मागेको स्रोतको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार इन्टरपोलले विशेषगरी सम्बद्ध कसुर के हो ?,
कुन कानुनअन्तर्गत अनुसन्धान भइरहेको हो ?
र कति रकम सम्पत्ति शुद्धीकरण गरिएको आरोप छ ?
भन्ने विषयमा थप प्रमाण र कानुनी स्पष्टता मागेको छ ।
इन्टरपोलको जवाफ नेपाल प्रहरीमार्फत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाइसकिएको बताइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २४ चैतमा जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।
त्यतिबेला दुवै जना विदेशमा रहेका थिए ।
हाल पनि उनीहरू विदेशमै रहेको बताइए पनि आधिकारिक रूपमा उनीहरूको अवस्थिति सार्वजनिक गरिएको छैन ।
विभागले उनीहरूलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउने उद्देश्यसहित नेपाल प्रहरीमार्फत इन्टरपोलसँग रेड नोटिस जारी गर्न अनुरोध गरेको थियो ।
इन्टरपोलको एशिया–प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय कार्यालय सिंगापुरमा रहेको छ, जहाँ नेपाल प्रहरीले अनुरोध पठाएको थियो ।
तर, इन्टरपोलले अनुसन्धानको आधारभूत कानुनी पक्षमै प्रश्न उठाएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सम्बद्ध कसुर अनिवार्य मानिन्छ ।
अर्थात्, कुनै गैरकानुनी कार्यबाट आर्जित सम्पत्तिलाई वैध आर्थिक प्रणालीमा प्रवेश गराइएको पुष्टि हुनुपर्ने हुन्छ ।
देउवा दम्पतीको हकमा त्यो सम्बद्ध कसुर स्पष्ट नभएको भन्दै इन्टरपोलले पुनः प्रश्न उठाएको हो ।
३० चैत २०८० मा प्रकाशित संशोधित कानुनअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफैंले अनुसन्धान गर्न पाउने भए पनि मुद्दा अगाडि बढाउन सम्बद्ध कसुर खुलाउनुपर्ने कानुनी व्यवस्था छ ।
देउवा दम्पती सार्वजनिक पदमा बसेका व्यक्ति भएकाले उनीहरूविरुद्ध भ्रष्टाचार वा पद दुरुपयोगसम्बन्धी अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो ।
तर, अख्तियारले हालसम्म उनीहरूविरुद्ध अनुसन्धान अघि बढाएको छैन ।
देउवा पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद भइसकेका छन् भने आरजु राणा एक पटक मन्त्री र तीन पटक सांसद रहिसकेकी छन् ।
विभागले भने उनीहरूविरुद्ध सिधै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ ।
गत वर्ष जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको प्रदर्शनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको थियो ।
त्यसपछि उपचारका लागि उनीहरू सिंगापुर गएका थिए ।
पछिल्ला महिनाहरूमा उनीहरू सिंगापुर र हङकङमा रहेको बताइए पनि औपचारिक पुष्टि भएको छैन ।
पक्राउ पुर्जी जारी भएपछि देउवाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफ्नो परिवारमाथि सम्पत्तिसम्बन्धी भ्रामक प्रचार गरिएको बताएका थिए ।
उनले सार्वजनिक पदमा रहँदा कानुनअनुसार सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाएको दाबी गर्दै अतिरञ्जित विवरणबाट भ्रमित नहुन आग्रह गरेका थिए ।






















