काठमाडौं– अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक समझदारी बन्ने संकेतसँगै स्ट्रेट अफ हर्मुज हुँदै तेल तथा ग्यास बोकेका जहाजहरूको आवतजावत फेरि सुरु भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार पछिल्ला दिनमा तीनवटा तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेका जहाज हर्मुज पार गर्दै पाकिस्तान, चीन र भारततर्फ प्रस्थान गरेका छन् ।
जहाज ट्र्याकिङ तथ्याङ्कले झन्डै तीन महिनादेखि रोकिएको इराकी कच्चा तेल बोकेको एक ठूलो जहाज पनि चीनतर्फ अघि बढेको देखाएको छ ।
यी जहाजहरूले इरानले तोकेको सुरक्षित समुद्री मार्ग प्रयोग गरेका हुन् ।
गत साता मात्रै करिब ६० लाख ब्यारेल कच्चा तेल बोकेका तीन ठूला जहाज चीन र दक्षिण कोरियातर्फ गएका थिए ।
अमेरिका–इरानबीच सहमति नजिकिएको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उल्लेख्य रूपमा घट्न थालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीच अधिकांश विषयमा सहमति भइसकेको र अब अन्तिम रूप दिन मात्रै बाँकी रहेको बताएका छन् ।
यद्यपि प्रारम्भिक समझदारीका औपचारिक सर्त सार्वजनिक भइसकेका छैनन् ।
अमेरिकी अनलाइन समाचार माध्यम एक्सियसले वार्तामा सहभागी एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सम्भावित सहमतिका मुख्य बुँदाहरू सार्वजनिक गरेको छ ।
रिपोर्टअनुसार अमेरिका र इरानबीच प्रारम्भिक रूपमा ६० दिने समझदारी पत्रमा हस्ताक्षर हुनेछ, जसको अवधि आपसी सहमतिमा थप्न सकिनेछ ।
समझदारीअनुसार ६० दिनसम्म स्ट्रेट अफ हर्मुज कुनै शुल्कबिना खुला रहनेछ ।
साथै इरानले जहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गर्न समुद्रमा राखिएका बारुदी उपकरण हटाउन सहमति जनाएको बताइएको छ ।
यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी खुकुलो पार्ने र इरानलाई तेल निर्यातमा केही प्रतिबन्धात्मक छुट दिने तयारी गरेको छ ।
यसले इरानसहित विश्व अर्थतन्त्रलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकी पक्षले भने “कार्यसम्पादनका आधारमा राहत” दिने नीति लिएको छ ।
अर्थात् इरानले प्रतिबद्धता कार्यान्वयन गरेपछि मात्रै प्रतिबन्ध फुकुवा र रोक्का गरिएको रकम मुक्त गरिनेछ ।
समझदारीको मस्यौदामा इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने, युरेनियम प्रशोधन कार्यक्रम स्थगित गर्ने तथा उच्च स्तरको प्रशोधित युरेनियमको भण्डारण हटाउने विषयमा वार्ता गर्ने प्रतिबद्धता पनि समावेश गरिएको बताइएको छ ।
एक्सियसका अनुसार इरानले मध्यस्थकर्तामार्फत अमेरिकालाई आणविक कार्यक्रम सीमित गर्न आफू लचिलो हुन तयार रहेको मौखिक संकेतसमेत दिएको छ ।
अमेरिकाले हाल मध्यपूर्वमा तैनाथ सैनिक र सैन्य उपकरणहरू ६० दिने अवधिभर यथावत् राख्नेछ ।
अन्तिम सम्झौता सफल भएमा मात्रै ती फिर्ता गरिने जनाइएको छ ।
समझदारीको अर्को महत्त्वपूर्ण पक्ष लेबननमा जारी हिज्बुल्ला र इजरायलबीचको तनाव अन्त्यसँग पनि जोडिएको छ ।
रिपोर्टअनुसार इसराइली प्रधानमन्त्री मेन्जामिन नेतान्याहुले यस विषयमा असन्तुष्टि जनाए पनि ट्रम्पले उनलाई सहमत गराएका छन् ।
यद्यपि हिजबुल्लाहले पुनः हतियार संकलन गर्ने वा इसराइलमाथि आक्रमणको प्रयास गरेमा इसराइलले आवश्यक कदम चाल्न सक्ने प्रावधान पनि मस्यौदामा राखिएको जनाइएको छ ।


विश्व खबर 




















