images
images
  • के हो चिनियाँबारे नेपाली मिडियाले फैलाएको अफवाह ?

    काठमाडौं– नेपालस्थित चिनियाँ राजदूतावासले एक चिनियाँ नागरिकले नेपाली सञ्चारकर्मीलाई घुस दिएर एक नेताविरुद्ध नकारात्मक समाचार लेखाउन खोजेको भन्ने आरोपको खण्डन गरेको छ ।

    दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रश्नोत्तर शैलीमा स्पष्टीकरण सार्वजनिक गर्दै यस्ता आरोपलाई अफवाहको संज्ञा दिएको हो ।

    दूतावासका प्रवक्ताले चीनलाई नियतवश बदनाम गर्ने उद्देश्यले यस्ता कुरा फैलाइएको दाबी गर्दै त्यसप्रति चिनियाँ पक्ष स्तब्ध भएको बताएका छन् ।

    ‘चीनलाई नियतवश बदनाम गर्ने त्यस्ता कार्यहरूको हामी कडा निन्दा गर्छौँ,’ प्रवक्ताको भनाइ उद्धृत गर्दै दूतावासले जनाएको छ ।

    स्पष्टीकरणमा चीनले सधैँ अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त अवलम्बन गर्दै आएको उल्लेख गरिएको छ ।

    साथै नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई निरन्तर समर्थन गर्दै आएको पनि दूतावासले जनाएको छ ।

    दूतावासले नेपालमा राजनीतिक स्थिरता, आर्थिक विकास तथा जनजीविका सुधारका क्षेत्रमा चीनले निरन्तर सहयोग गरिरहेको दाबी गरेको छ ।

    हाल फैलिएका आरोप र अफवाहबारे गम्भीर र गहिरो अनुसन्धान गर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूमाथि नेपाली कानुनअनुसार कारबाही गर्न सम्बन्धित नेपाली निकायलाई आग्रह गरिएको छ ।

    दूतावासले अन्त्यमा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ ।

    ‘तर्क र विवेकले अफवाह अन्त्य गरिदिऊन् । हामी सबै नेपाली मित्रहरूले सही र गलत छुट्ट्याउन अनि चीन र नेपालबीच विद्यमान परम्परागत मित्रता र सहकार्यलाई संवर्धन गर्न मिलेर काम गर्नुहुनेछ भन्ने विश्वास गर्छौँ,’ वक्तव्यमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images