images
images
  • सरकारले मन्त्रालय घटाएर ८ पुर्‍याउँदै, साउनदेखि कार्यान्वयन

    लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हालका १२ मन्त्रालयलाई घटाएर साउन १ गतेदेखि मुख्यमन्त्री कार्यालयसहित ८ मन्त्रालयमा सीमित गरिने उल्लेख छ ।

    सरकारले ‘उद्यमशील लुम्बिनी’ र ‘डिजिटल लुम्बिनी’ अभियानलाई रूपान्तरणकारी कार्यक्रमका रूपमा अघि बढाउने भएको छ ।

    कृषि क्षेत्रमा अर्गानिक खेती, युवा उद्यमशीलता, बाली विशेष क्षेत्र विकास तथा विभिन्न जिल्लामा कृषि स्रोत केन्द्र स्थापना गरिने नीति लिइएको छ ।

    पर्यटनतर्फ लुम्बिनीलाई ‘आरोग्य पर्यटन हब’ बनाउने, लुम्बिनी–मुक्तिनाथ धार्मिक परिपथ तथा लुम्बिनी–स्वर्गद्वारी–बर्दिया ‘सिल्भर ट्राइङ्गल’ विकास गर्ने योजना अघि सारिएको छ ।

    पहाडमा बसाइँसराइ रोक्न ‘एक जिल्ला, एक नमुना बस्ती’ कार्यक्रम सञ्चालन गरिने तथा शिक्षा क्षेत्रमा एकीकृत प्रादेशिक शिक्षा नीति ल्याइने उल्लेख छ ।

    स्वास्थ्यतर्फ लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार, प्रत्यारोपण सहुलियत निरन्तरता तथा सबै अस्पतालमा एन्टी रेबिज र सर्पदंश उपचार सामग्रीको नियमित आपूर्ति सुनिश्चित गरिने नीति लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images