images
images
  • डीआईजी र एसएसपी सरुवामा ढिलाइ, कहाँ अड्कियो प्रक्रिया ?

    काठमाडौं– नेपाल प्रहरीका केही डीआईजी र एसएसपीहरूको सरुवा केही हप्तादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अड्किएको छ ।

    गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालेका कारण सरुवा प्रक्रियामा समन्वय अभाव देखिएको स्रोतहरूको भनाइ छ ।

    प्रहरी नेतृत्व र प्रधानमन्त्री सचिवालयबीच आवश्यक समन्वय नहुँदा मधेश र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसहित विभिन्न तालिम केन्द्रका एसएसपीहरूको सरुवा रोकिएको हो ।

    यसअघि एसपीसम्मको सरुवा अधिकार आईजीपीसँग भए पनि एसएसपी र डीआईजीको सरुवा गृह मन्त्रालय तथा मन्त्रिपरिषद्बाट हुने व्यवस्था छ ।

    तर, पछिल्ला हप्ताहरूमा निर्णय प्रक्रिया ढिलो हुँदै आएको छ ।

    वैशाखमै हुनुपर्ने केही सरुवा जेठ १ गते मात्र गरिएको थियो ।

    त्यस क्रममा ४६ एसपी र १४९ डीएसपीको सरुवा गरिएको थियो ।

    तर अहिले डीआईजी र एसएसपी सरुवामा प्रधानमन्त्री सचिवालय, गृह मन्त्रालय र प्रहरी नेतृत्वबीच समन्वय नहुँदा निर्णय रोकिएको बताइन्छ ।

    केही स्रोतका अनुसार, विभिन्न पक्षले आ–आफ्ना उम्मेदवार अघि सार्दा प्रक्रिया झन् जटिल बनेको हो ।

    मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखसहित काठमाडौं र ललितपुरका एसएसपी सरुवामा पनि रस्साकस्सी देखिएको छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा र ललितपुरका एसएसपी होविन्द्र बोगटीको विकल्पबारे समेत छलफल भइरहेको छ ।

    काठमाडौंका लागि दयानिधि ज्ञवाली, दिलिप घिमिरे, शिवकुमार श्रेष्ठ र अजय केसीको नाम चर्चामा छन् भने ललितपुरका लागि पनि त्यही सूचीका अधिकारीहरू दावेदार मानिएका छन् ।

    यसबीच विभिन्न प्रदेशका तालिम केन्द्र र विशेष ब्युरोहरूमा कार्यरत एसएसपीहरूको सरुवाको सम्भावनासमेत छलफलमा रहेको स्रोतहरूको दाबी छ ।

    तर निर्णय कहिले हुन्छ भन्ने विषयमा हालसम्म स्पष्टता आएको छैन, किनभने उच्च तहमा समन्वय अभाव नै मुख्य समस्या बनेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images