काठमाडाैं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सोमबार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको हो। कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताले उक्त जानकारी दिएका हुन्।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेय को इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्न थप म्याद नलिन प्रहरीलाई आदेश दिएको थियो। अदालतले अनुसन्धान सकिए मुद्दा दर्ता गर्न र नसकिए आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठक ले सर्वोच्च अदालतको आदेशअनुसार अनुसन्धान प्रतिवेदन बुझाइसकिएको बताएका छन्।
प्रहरीले प्रसाईंलाई जेठ ४ गते पक्राउ गरेको थियो। त्यसपछि जेठ ५ गते तीन दिन र जेठ ७ गते थप चार दिनका लागि म्याद थप गरिएको थियो।
प्रहरीले प्रसाईंलाई उनले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिका कारण पटक–पटक पक्राउ गर्दै आएको छ।






















