काठमाडौं– रूस–युक्रेन युद्धका क्रममा रूसले युक्रेनमाथि हालसम्मकै ठूलोमध्ये एक हवाई आक्रमण गरेको छ ।
आइतबार रातभर राजधानी किभसहित विभिन्न शहरहरूमा मिसाइल र ड्रोनमार्फत व्यापक हमला गरिएको युक्रेनी वायुसेनाले जनाएको छ ।
युक्रेनी सेनाका अनुसार रूसले एकै रात करिब ९० वटा मिसाइल र करिब ६०० ड्रोन प्रहार गरेको थियो ।
आक्रमणपछि राजधानी किभमा मात्र करिब ३० भन्दा बढी भवनहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार सरकारी प्रशासनिक भवन, विदेश मन्त्रालय, साथै केही सांस्कृतिक संरचनाहरूमा समेत क्षति पुगेको छ ।
आक्रमणका कारण हजारौं नागरिकहरू भूमिगत मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य भएका थिए ।
स्थानीय बासिन्दाले रातभरको आक्रमणलाई डरलाग्दो र त्रासपूर्ण अनुभव भएको बताएका छन् ।
आक्रमणमा दुई जनाको मृत्यु भएको र झन्डै सय जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
युक्रेनी अधिकारीहरूले रुसले यस आक्रमणमा परमाणु हतियार बोक्न सक्षम मानिने मध्यम दूरीको ‘ओरेस्निक’ हाइपरसोनिक मिसाइल समेत प्रयोग गरेको दाबी गरेका छन् ।
साथै इस्कान्दर, किन्झाल र जिर्कोन जस्ता क्षेप्यास्त्र पनि प्रयोग गरिएको जनाइएको छ ।
युरोपेली नेताहरूले यो आक्रमणको कडा निन्दा गर्दै रूसले युद्धलाई थप खतरनाक मोडमा लैजान खोजेको आरोप लगाएका छन् ।
युरोपेली संघकी कूटनीतिक प्रमुखले मस्कोले राजनीतिक त्रास फैलाउने र आणविक तनाव बढाउने प्रयास गरेको टिप्पणी गरेकी छन् ।
तर रूसले भने आरोप अस्वीकार गर्दै युक्रेनका सैन्य संरचना, हवाई अड्डा र कमान्ड केन्द्रलाई लक्षित गरेर जवाफी आक्रमण गरिएको दाबी गरेको छ ।
मस्कोका अनुसार उक्त आक्रमणमा नागरिकलाई निशाना बनाइएको छैन ।
विवादास्पद ‘ओरेस्निक’ मिसाइल, जसलाई रूसले हालै विकसित मध्यम दूरीको ब्यालिस्टिक मिसाइलका रूपमा प्रस्तुत गरेको छ, एकैपटक धेरै वारहेड छुट्याएर विभिन्न लक्ष्यमा प्रहार गर्न सक्ने क्षमता भएको बताइन्छ ।
यसलाई रोक्न कठिन हुने दाबी पनि गरिँदै आएको छ ।


विश्व खबर 




















