काठमाडौं– राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन लागेको बताएका छन् ।
विदेशमन्त्री मार्को रुबियोले पनि वार्तामा महत्वपूर्ण प्रगति भएको खुलाएका छन् ।
इरानले औपचारिक रुपमा कुनै प्रतिक्रिया नजनाए पनि दुई पक्ष एमओयूमा हस्ताक्षरको नजिक पुगेको बताइएको छ ।
सो सम्झौतामा केके छ त ?
अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै एक्सियोसले जनाएअनुसार सम्झौतामा युद्धविराम ६० दिन लम्ब्याउने तयारी छ ।
सो अवधिमा इरानले हर्मुज जलमार्ग पूर्ण रुपमा खुला गर्नेछ ।
उसले कुनै पनि जहाजबाट शुल्क लिने छैन र सो जलमार्गको थापेको धराप हटाउन थाल्नेछ ।
बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने छ ।
त्यस्तै, इरानी तेल स्वतन्त्र रुपमा बेच्न पाउनेगरी आर्थिक प्रतिबन्धहरू हटाउने छ ।
अमेरिकी अधिकारीहरूका अनुसार इरानले जति चाँडो धराप हटाएर जहाजका लागि बाटो खोल्छ, उति छिटो इरानमाथिका आर्थिक प्रतिबन्धहरू खुला हुनेछन् ।
६० दिनको युद्धविराम सहमतिमा लम्ब्याउने सकिनेछ ।
इरानको रोक्का गरिएको रकम तत्काल फुकुवा गर्नुपर्ने उसको माग छ ।
तर, अमेरिकीहरूले पहिले अन्तिम सम्झौता हुनुपर्ने बताएका छन् ।
त्यस्तै, सो क्षेत्रमा परिचालित अमेरिकी सैनिकहरू ६० दिनपछि फिर्ता हुनेछन् ।
अर्को मुख्य विषय, आणविक हतियार हो ।
एमओयूको मसौदामा इरानले आणविक हतियार कहिल्यै पनि बनाउन प्रयास नगर्ने प्रतिबद्धता उल्लेख हुनेछ ।
त्यस्तै, युरेनियम प्रशोधन कार्यक्रम कसरी बन्द गर्ने, प्रशोधित युरेनियम कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा कुराकानी हुन बाँकी नै छ ।
यसका अलावा एमओयूमा इजरायलले लेबनानमाथि जारी राखेको आक्रमण पनि रोक्ने उल्लेख गरिनेछ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले शनिबार सर्वोच्च नेता मोज्ताबा खामेनीको अनुमतिबेगर कुनै सहमति नहुने बताएका छन् ।
पाकिस्तान र पश्चिम एसियाली मुलुकहरूको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता भइरहेको छ ।
तर, इजरायल यो वार्ताको विरोधमा छ ।
सम्भावित सहमतिको समाचार सार्वजनिक भएसँगै इजरायली अधिकारीहरूले असन्तुष्टि जाहेर गरेका छन् ।
शनिबार बेन्यामिन नेतन्याहुले ट्रम्पसँग फोनमा कुरा गरेका थिए ।
त्यस्तै, इजरायलसँग निकट अमेरिकी नेताहरूले पनि चिन्ता प्रकट गरेका छन् ।
ह्वाइट हाउसका अधिकारीहरूले भने आइतबार नै सहमति हुनसक्ने आशा व्यक्त गरेका छन् ।
तर, इरान गम्भीर नभए ६० दिन नपुगी युद्धविराम भंग हुनसक्ने चेतावनी पनि उनीहरूले दिएका छन् । –एजेन्सी


विश्व खबर 




















