काठमाडौं– नेकपा (एमाले)भित्र नेतृत्व र पुनर्गठनको विषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र ‘युज एन्ड थ्रो’ नीतिप्रति असन्तुष्टि बढ्दै जाँदा उनी आफ्नै निकट नेताहरूबाट समेत टाढिँदै गएका छन् ।
पार्टी सचिवालयमा ओली अल्पमतमा परेको दाबी नेताहरूले गरेका छन् ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलजस्ता विश्वासिला नेताहरू समेत पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा उभिएपछि ओली थप दबाबमा परेका छन् ।
तर, ओलीले भने नेतृत्व नछाड्ने अडान कायमै राखेका छन् ।
नेताहरूका अनुसार विगतदेखि नै ओलीले शक्ति सन्तुलनका लागि विभिन्न नेताहरूसँग सम्झौता गर्दै पछि उनीहरूलाई किनारामा पार्ने गरेको आरोप छ ।
यही कारण वामदेव गौतमदेखि ईश्वर पोखरेलसम्म र पछिल्लो समय पौडेल–पोखरेल समूहसम्म असन्तुष्टि बढेको बताइन्छ ।
सचिवालयमा बहुमत सदस्यले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग गरे पनि ओलीले आफूलाई ‘अपरिहार्य नेता’ ठान्दै निर्णय केन्द्रीय कमिटीमा लैजाने रणनीति लिएका छन् ।
तर, ओलीको अडानले पार्टीभित्र विवाद झन् गहिरिँदै गएको छ ।
नेताहरूका अनुसार यदि सहमति र नेतृत्व हस्तान्तरणको बाटो नखुले एमालेभित्रको एकता अझ कमजोर हुन सक्ने देखिन्छ ।






















