images
images
  • फास्ट ट्र्याक : विकासको सपना कि ? सेना र राजनीतिक भ्रष्टाचारको अखडा ?

    काठमाडौं– तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) नेपालकै सबैभन्दा महत्वाकांक्षी राष्ट्रिय गौरवको आयोजना हो ।

    काठमाडौंलाई तराईसँग छोटो दूरीमा जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने, व्यापारिक लागत घटाउने र देशको रणनीतिक महत्वलाई बलियो बनाउने लक्ष्यसहित अघि बढाइएको यो आयोजना अहिले भने निर्माण ढिलाइ, लागत वृद्धि, अपारदर्शी निर्णय प्रक्रिया र राजनीतिक–सैनिक शक्तिकेन्द्रको प्रभावका कारण गम्भीर विवादमा तानिएको छ ।

    सरकारले चैत २०८३ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखे पनि हालसम्म यसको भौतिक प्रगति करिब ४८ प्रतिशत मात्रै पुगेको छ ।

    आयोजनाको सुस्त प्रगति हेर्दा निर्धारित समयभित्र काम सकिने सम्भावना अत्यन्त न्यून देखिएको छ ।

    सरोकारवाला निकायहरूका अनुसार कम्तीमा दुईदेखि तीन वर्ष म्याद थप नगरी आयोजना सम्पन्न हुने अवस्था छैन ।

    सेनालाई जिम्मा, तर प्रश्नको घेरामा कार्यसम्पादन

    मन्त्रिपरिषद्ले २१ वैशाख २०७४ मा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

    त्यसपछि २७ साउन २०७४ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना औपचारिक रूपमा सेनालाई हस्तान्तरण गरेको हो ।

    त्यतिबेला सेनामार्फत आयोजना निर्माण गर्दा काम छिटो, प्रभावकारी र भ्रष्टाचारमुक्त हुने सरकारी दाबी थियो ।

    राजनीतिक हस्तक्षेप कम हुने र राष्ट्रिय सुरक्षासँग जोडिएको परियोजना भएकाले सेनाको नेतृत्व उपयुक्त हुने तर्क प्रस्तुत गरिएको थियो ।

    तर आठ वर्ष बितिसक्दा पनि आयोजना आधा मात्रै सम्पन्न हुनुले सरकारको दाबीमाथि गम्भीर प्रश्न उठाएको छ ।

    उल्टै आयोजनाभित्र राजनीतिक पहुँच, ठेक्का प्रक्रियामा प्रभाव, लागत अस्वाभाविक रूपमा बढ्नु, निर्माण ढिलाइ र निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको आरोप चर्किंदै गएको छ ।

    म्याद सकिँदै, फेरि तीन वर्ष थप्ने तयारी

    प्रारम्भिक लक्ष्यअनुसार आयोजना मंसिर २०८१ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण प्रगति अत्यन्त सुस्त भएपछि पहिलो पटक चैत २०८३ सम्मका लागि म्याद थप गरिएको थियो ।

    अहिले त्यो समयसीमाभित्र पनि काम सम्पन्न नहुने स्पष्ट संकेत देखिएपछि दोस्रो पटक म्याद थप्ने तयारी भइरहेको छ ।

    राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार आयोजनाको वर्तमान अवस्थाले म्याद थप अपरिहार्य बनाएको छ ।

    ‘दुईदेखि तीन वर्ष म्याद थप नगरी काम सकिने अवस्था छैन,’ उनले भने, ‘तर काम नगर्ने निर्माण व्यवसायीलाई आयोजना कार्यालयले कडाइका साथ जिम्मेवार बनाउनुपर्छ ।’

    उनका अनुसार द्रुतमार्ग चार लेनमा निर्माण भइरहेको छ ।

    कम्तीमा दुई लेन सडक आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउनुपर्ने दबाब बढिरहेको छ ।

    खोकना विवाद : आयोजनाको सबैभन्दा ठूलो अवरोध

    आयोजनाको सबैभन्दा जटिल र राजनीतिक रूपमा संवेदनशील खण्ड ललितपुरको खोकना क्षेत्र बनेको छ ।

    खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण, टोलप्लाजा स्थानान्तरण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधनको विषय वर्षौंदेखि अल्झिएको छ ।

    विशेषगरी फर्सिडोलमा टोलप्लाजा निर्माण गर्ने विषयमा सरकारले अझै स्पष्ट निर्णय लिन नसक्दा खोकना क्षेत्रमा निर्माण कार्य नै अघि बढ्न सकेको छैन ।

    यही विवादका कारण आयोजनाको समग्र प्रगति प्रभावित भएको छ ।

    डीपीआर संशोधनको प्रस्ताव लामो समयदेखि रक्षा मन्त्रालयमै रोकिएको छ ।

    तत्कालीन सरकारले मन्त्रिपरिषद्मा पठाएको प्रस्ताव निर्णयविहीन बनेपछि अहिले पुनः त्यही प्रस्ताव अघि बढाउने तयारी भइरहेको रक्षा मन्त्रालयले जनाएको छ ।

    सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार डीपीआर संशोधन स्वीकृत भएलगत्तै खोकना खण्डको काम अघि बढाउन सकिनेछ ।

    तर हालसम्म यसबारे कुनै ठोस राजनीतिक निर्णय हुन सकेको छैन ।

    सुरुङ र पुल निर्माणमा सुस्त गति

    द्रुतमार्गको कुल दूरी ७०.९७७ किलोमिटरमध्ये १०.९०१ किलोमिटर सुरुङमार्ग र १२.८८५ किलोमिटर पुल क्षेत्र पर्छ ।

    आयोजनाअन्तर्गत सात वटा सुरुङ निर्माण भइरहेका छन् ।

    धेद्रे र लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’ भइसके पनि अन्य सुरुङहरू अझै निर्माणाधीन अवस्थामा छन् ।

    महादेवटार सुरुङको एउटा भाग आगामी असारसम्म ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य सेनाले राखेको छ ।

    त्यस्तै विशेष प्रकृतिका ८९ पुलमध्ये ५६ पुलको फाउन्डेसन, ३८ पुलको सब–स्ट्रक्चर र १६ पुलको सुपर–स्ट्रक्चर निर्माण सम्पन्न भएको छ ।

    तर खोकना क्षेत्रमा पर्ने चार पुलको काम अझै सुरु हुन सकेको छैन ।

    सडक निर्माणतर्फ हालसम्म ११.२ किलोमिटरमा सबबेस, ५.५ किलोमिटरमा बेस र केवल ०.२ किलोमिटर मात्रै कालोपत्र भएको तथ्यांकले आयोजनाको सुस्त गति स्पष्ट देखाउँछ ।

    लागत वृद्धि र अपारदर्शितामाथि प्रश्न

    सुरुमा करिब १ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना अहिले भ्याटसहित २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगिसकेको छ ।

    विशेषगरी सुरुङमार्ग र पुल निर्माणका ठेक्कामा बारम्बार विवाद उत्पन्न भएका छन् ।

    कुन कम्पनीलाई कसरी ठेक्का दिने, डिजाइन किन परिवर्तन भइरहे, लागत किन बढ्दै गयो भन्ने विषयमा पटक–पटक प्रश्न उठे पनि स्पष्ट जवाफ आउन सकेको छैन ।

    कतिपय ठेक्का प्रक्रियामा राजनीतिक पहुँचका आधारमा निर्णय भएको आरोपसमेत लाग्दै आएको छ ।

    विदेशी कम्पनीसँग भएका सम्झौता, परामर्शदाता छनोट र निर्माण ढिलाइको जिम्मेवारी कसले लिने भन्ने विषय अझै अस्पष्ट छ ।

    विकासको प्रतीक कि संस्थागत असफलताको उदाहरण ?

    काठमाडौं–तराई–मधेश द्रुतमार्गलाई नेपालको आर्थिक र रणनीतिक रूपान्तरणको आधार परियोजनाका रूपमा हेरिएको थियो ।

    निर्माण सम्पन्न भए काठमाडौंबाट तराई पुग्न करिब एक घण्टा मात्रै लाग्ने अपेक्षा गरिएको छ ।

    तर वर्षौंदेखिको ढिलाइ, राजनीतिक हस्तक्षेप, निर्णय प्रक्रियाको अपारदर्शिता, खोकना विवाद र कमजोर कार्यान्वयन क्षमताले यो आयोजना अहिले विकासको प्रतीकभन्दा पनि राज्य संयन्त्रको असक्षमता र संस्थागत भ्रष्टाचारको उदाहरण बन्दै गएको टिप्पणी हुन थालेको छ ।

    राष्ट्रिय गौरवको आयोजनालाई राजनीतिक स्वार्थ, शक्तिकेन्द्रित प्रभाव र अपारदर्शी निर्णय प्रक्रियाबाट मुक्त गरी व्यावसायिक, पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्नुपर्ने माग अहिले झन् चर्किएको छ ।

    अन्यथा फास्ट ट्र्याक नेपालको विकास इतिहासमा अधुरो सपना र व्यवस्थापन असफलताको प्रतीक बन्ने खतरा बढ्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images