images
images
  • संसद्को ‘अवरुद्ध अवस्था’बारे रास्वपा सांसदहरूको रविलाई प्रश्न, कसले के भने ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूले सरकार र संसद्बीच बढ्दो दूरी तथा संसद्को अवरुद्ध अवस्थाबारे पार्टी सभापति रवि लामिछानेसँग प्रश्न उठाएका छन् ।

    शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोशी प्रदेशबाट निर्वाचित सांसदहरूसँग भएको छलफलमा संसद् अवरोध, सुकुमबासी बस्ती व्यवस्थापन, पाथीभरामा केबुलकार निर्माण तथा गिरिबन्धु टी–स्टेटको जग्गा फुकुवाजस्ता विषयमा सांसदहरूले पार्टीको स्पष्ट धारणा माग गरेका हुन् ।

    पूर्वउपसभामुख तथा झापा–२ बाट निर्वाचित सांसद इन्दिरा राना ले सुकुमबासी बस्ती व्यवस्थापनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरिन् ।

    उनले स्थानीय तहहरूले सुकुमबासी व्यवस्थापनको नाममा मनपरी ढंगले सूचना जारी गरिरहेको भन्दै आपत्ति जनाइन् ।

    ‘लालपुर्जा भएका नागरिकलाई समेत उठ्न नोटिस दिइएको छ ।

    सुकुमबासीहरूले वर्षौंदेखि कर तिरिरहेका छन् ।

    कतिपय ठाउँमा त जग्गाको मूल्यभन्दा बढी कर उठाइएको अवस्था छ,’ उनले भनिन् ।

    उनले नदी अतिक्रमण गलत भए पनि काठमाडौंमा भएको हटाउने अभियानलाई आधार बनाएर झापालगायत जिल्लामा स्थानीय सरकारले व्यापक रूपमा बस्ती हटाउन खोज्नु उचित नभएको बताइन् ।

    छलफलका क्रममा अर्का सांसदले संसद्मा जारी अवरोध हटाउन पार्टीले के पहल गरिरहेको छ भन्ने प्रश्न उठाएका थिए ।

    प्रतिपक्षी दलहरूले निरन्तर प्रधानमन्त्रीको उपस्थिति माग गरिरहे पनि सरकार संसद्प्रति उत्तरदायी नदेखिएको उनीहरूको भनाइ थियो ।

    ‘सरकार र पार्टीबीचभन्दा पनि सरकार र संसद्बीच दूरी बढेको देखिन्छ,’ एक सांसदले बताए ।

    रास्वपाका अर्का सांसदका अनुसार यज्ञमणि गौतम ले पाथीभरामा केबुलकार निर्माणको विषयमा सरकार स्पष्ट हुनुपर्ने बताएका थिए ।

    ‘सरकारले बनाउने हो कि नबनाउने हो भन्ने स्पष्ट निर्णय गर्नुपर्छ । अनिर्णयको अवस्था लामो समय राख्नु हुँदैन,’ उनले बताएका थिए ।

    त्यसैगरी गिरिबन्धु टी–स्टेटको जग्गा फुकुवाबारे पनि प्रश्न उठाइएको थियो ।

    बिर्तामोड क्षेत्रमा करिब १४ सय कित्ता जमिन र ९ सयभन्दा बढी घरधुरी प्रभावित रहेको उल्लेख गर्दै कानुनी जटिलता के हो भन्ने विषयमा स्पष्ट जानकारी माग गरिएको थियो ।

    सांसदहरूको प्रश्नको जवाफमा सभापति लामिछानेले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन पार्टीले पहल गरिरहेको बताएका थिए ।

    साथै काठमाडौं उपत्यकाका नदी किनारामा रहेका अव्यवस्थित बस्ती हटाउने कार्य बाहिरका जिल्लामा तत्काल लागू गर्ने नीति नरहेको जानकारी पनि उनले दिएका थिए ।

    कोशी प्रदेशका सांसदहरूसँग छलफल सकेपछि लामिछानेले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग पनि छुट्टै छलफल गरेका छन् ।

    उल्लेखनीय छ, राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथिको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध जारी राखेका छन् ।

    प्रतिनिधिसभा नियमावलीको दफा ५६(१) अनुसार हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत प्रधानमन्त्री सहभागी नभएको विषयलाई लिएर विपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images