काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरूको कार्यविभाजनसहित जिम्मेवारी प्रस्ताव गरेका छन् ।
प्रस्तावित जिम्मेवारीबारे पार्टीभित्र छलफल चलिरहेको एक नेताले बताएका छन् ।
प्रस्तावअनुसार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई सुशासन तथा सेवा प्रवाहसम्बन्धी जिम्मेवारी दिने तयारी गरिएको छ ।
त्यसैगरी उपाध्यक्ष विष्णु पौडेललाई विभागहरूको समन्वयको जिम्मेवारी प्रस्ताव गरिएको छ ।
उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकाससम्बद्ध विभाग, उपाध्यक्ष गोकर्ण विष्टलाई पूर्वाधार विकास तथा उपाध्यक्ष रघुजी पन्तलाई मानव स्रोतसम्बद्ध विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।
महासचिव शंकर पोखरेललाई संगठनात्मक कामको समन्वय तथा केन्द्रीय कार्यालयको नेतृत्वको जिम्मेवारी प्रस्ताव गरिएको छ ।
त्यस्तै, उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख बनाउने तयारी गरिएको एक नेताले जानकारी दिए ।
स्रोतका अनुसार उपमहासचिव रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलतासम्बन्धी जिम्मेवारी र सचिव योगेश भट्टराईलाई नीति तथा योजनासम्बन्धी जिम्मेवारी दिने विषयमा पनि छलफल भएको छ । यद्यपि, प्रस्तावित जिम्मेवारीबारे अन्तिम निर्णय भने हुन बाँकी रहेको बताइएको छ ।






















