काठमाडौं– सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवको फ्लाइट गत बैशाख २९ गते थियो ।
सरकारको ुफ्रि भिसा फ्रि टिकेटुको नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रूपैयाँ तिरिसकेका थिए ।
तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले ु३ लाख रूपैयाँभन्दा एक रूपैयाँ पनि कम लिन्नु भनेपछि उनी मलेसिया उड्न पाएनन् ।
उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । तर, ३ लाख रूपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन ।
म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रूपैयाँ तिरे जेठ ३ गते उडाइदिने बतायो ।
त्यसपछि उनले पैसाको जोहो गरे । नाइट गाडी चढेर शनिबार बिहान काठमाडौं ओर्लिए ।
कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे ।
पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए ।
त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए ।
अजय रामजीकै निर्वाचन क्षेत्रका मतदाता हुन् ।
अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैं खटिए ।
केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगे । त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो ।
म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरूमा अजयसँग पैसा मागे ।
अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भयो ।
त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो ।
फ्रि भिसा फ्रि टिकेट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याइयो ।
ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य महत्त्वपूर्ण कागजात रहेको पाइयो ।
उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ ।
वैदेशिक रोजगारीको नाममा सोझा कामदारहरूलाई ठगी गर्ने र फ्री भिसा फ्री टिकटको नियम उल्लंघन गर्दै लाखौं रकम असुल्ने म्यानपावरका एजेन्ट पक्राउको घटनाले कसरी सोझा नागरिक ठगिइरहेका छन् भन्ने प्रमाणित गरेको छ ।
श्रम मन्त्री यादवका स्वकीय सचिव सरोज भन्छन्, ‘तीनकुनेस्थित गैरीगाउँमा आज एक सोझो नेपाली ठगिनबाट रोकेका छौं । यो विशेष योजनामा साथ दिनु हुने प्रहरी अधिकारीहरूलाई हार्दिक धन्यवाद ।’
यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए ।
उनले सो म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए ।
मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपैयाँ मात्र भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको हो ।
म्यानपावरले सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको थियो ।
पीडित यादवले टिकट र अन्य प्रक्रियाका लागि भन्दै यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाए पनि बाँकी पैसा नबुझाएसम्म उनको राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले बन्धक बनाएको थियो ।
पक्राउ परेका एजेन्टले सुरुमा आफूले पैसा लिएर मात्र कागजात दिन लागेको दाबी गरे तापनि प्रहरीले फ्री भिसा फ्री टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागेको भन्दै प्रश्न गरेपछि उनी चुप बनेका थिए ।
प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरिएपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ ।
यादवले खुसी व्यक्त गर्दै भने, ुसुरुमा म्यानपावरले पैसा लाग्दैन, अन्तर्वार्ता पास भएपछि सबै मिलाउँला भन्यो ।
तर जब भिसा आयो, तब ३ लाख नदिए जान पाउँदैनौ भन्दै धम्क्याउन थाल्यो ।
गरिब मान्छेले ऋण काढेर पैसा ल्याउनुपर्ने, त्यसमाथि यस्तो लुटधन्दा गर्नेलाई कडा कारबाही हुनुपर्छ ।
श्रममन्त्री यादवको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै पनि समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न अपिल समेत गरेको छ ।
पक्राउ परेका एजेन्टमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।























