काठमाडौं– वैदेशिक अध्ययनका नाममा विद्यार्थी तथा अभिभावकलाई विभिन्न बहानामा ठगी गर्दै आएको आरोपमा राजधानीका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका दर्जनौं एजुकेसन कन्सल्टेन्सीमाथि प्रहरीले कारबाही थालेको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका तथा सेवाग्राहीलाई भ्रममा पारेर रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा केही कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् भने अन्यमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाका बानेश्वर, पुतलीसडक, चाबहिल, चुच्चेपाटी, मित्रपार्क, गोंगबु, बालाजु, भक्तपुर लगायत क्षेत्रमा सञ्चालित कन्सल्टेन्सीहरूमा छापा मारेर कागजात परीक्षण, अनुमतिपत्र जाँच तथा आर्थिक कारोबारसम्बन्धी अनुसन्धान थालिएको हो ।
प्रहरी स्रोतका अनुसार विदेश पठाइदिने, भाषा कक्षा गराइदिने, भिसा सुनिश्चित गरिदिने तथा रोजगारको प्रलोभन देखाएर लाखौं रुपैयाँ उठाउने तर प्रक्रिया पूरा नगर्ने गुनासो बढेपछि संयुक्त अनुगमन गरिएको थियो ।
कारबाहीको दायरामा परेका संस्थामध्ये बानेश्वरस्थित एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सी, इन्टर ग्लोबल एजुकेसन कन्सल्टेन्सी, अल्पार एजुकेसन कन्सल्टेन्सी, ग्लोबल ग्लोरी एजुकेसन कन्सल्टेन्सीलगायत छन् ।
त्यस्तै चुच्चेपाटी क्षेत्रमा आकृति मोटिभेज, मून स्काइ कन्सल्टेन्सी, सर्वज्योति एजुकेसन हब, एडुक्वेस्ट इन्टरनेशनल र प्राइम पाथ माथि पनि अनुसन्धान अघि बढाइएको छ ।
चाबहिल क्षेत्रका समेथन एजुकेसनल इन्स्टिट्युट, लेक्सिको एजुकेसनल नेटवर्क, गुरुबा इन्टरनेशनल–स्टडी ग्लाइडर, पास्कल एजुकेसन कन्सल्टेन्सी, पीएनपी एजुकेसन सर्भिस र मिन्नानो एकेडेमी समेत निगरानीमा परेका छन् ।
पुतलीसडक, रामशाहपथ र न्यूप्लाजास्थित स्टार एजुकेशन, मास्टर्स एकेडेमी एजुकेसन, अल युरोपियन एजुकेसन, जीपीसी नेपाल, ग्रीन एप्पल भिसा एण्ड इमिग्रेसन, फ्युचर बिलोङ्स कन्सल्टेन्सी, एनआइएमबी एजुकेसन, इम्पल्स एजुकेसन र ड्रीम एजुकेसन कन्सल्टेन्सीमाथि समेत छानबिन भइरहेको छ ।
गोंगबु क्षेत्रमा सञ्चालनमा रहेका निप्पोन एज् ग्लोबल एजुकेसन, नीट इन्टरनेशनल कन्सल्टेन्सी, निहोन एसिया कन्सल्टेन्सी र शेप्स एजुकेसन एण्ड कन्सल्टेन्सी समेत प्रहरीको निगरानी सूचीमा परेका छन् ।
भक्तपुर र मध्यपुर थिमी क्षेत्रमा रहेका केही जापानी तथा कोरियन भाषा केन्द्रमाथि पनि अनुगमन गरिएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा कतिपय संस्थाले दर्ता नवीकरण नगरेको, शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायको अनुमति नलिएको र विद्यार्थीलाई झुक्याएर रकम उठाएको देखिएको छ ।
प्रहरीले पक्राउ परेका सञ्चालकहरूको विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
अनुसन्धान प्रभावित नहोस् भनेर नाम गोप्य राखिएको जनाइएको छ ।
वैदेशिक अध्ययनको तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकलाई आधिकारिक अनुमति प्राप्त संस्था छनोट गर्न, रकम बुझाउँदा कानुनी कागजात अनिवार्य लिन र आकर्षक विज्ञापनको भरमा नपर्न प्रहरीले आग्रह गरेको छ ।























