काठमाडौं– कांग्रेसले प्रदेश सरकारको सत्ता सहकार्यलाई ‘नवीकरण’ गर्न एमाले र नेकपासँग छलफल थालेको छ ।
सभापति गगन थापाका अनुसार नीति तथा कार्यक्रम, बजेट र नेतृत्व परिवर्तनका विषयमा संवाद भइरहेको छ ।
देउवा–ओलीबीच २०८१ असारमा भएको सहमतिअनुसार ६ प्रदेशमा कांग्रेस–एमालेबीच सत्ता बाँडफाँट भएको थियो ।
केन्द्रमा समीकरण फेरिए पनि प्रदेशमा पुरानै सहकार्य कायम राख्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
हाल कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व गरिरहेको छ भने कोसी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वमा सरकार छ ।
मधेसमा भने कांग्रेस, जसपा र नेकपाबीच सहकार्य कायम छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा, एमालेका विष्णु पौडेल–शंकर पोखरेल तथा नेकपा संयोजक प्रचण्डबीच प्रदेश सरकारको नेतृत्व, मन्त्री हेरफेर र सत्ता सहकार्यबारे छलफल भएको छ ।
बजेटअघि वा पछि नेतृत्व परिवर्तन गर्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।























