images
images
  • पाइलट विजय लामाको प्रश्नः हैन यो देश ठूलाबडा र धनीहरुको मात्रै हो ?

    उनि भन्छन्: श्रम बेच्न विदेश गएका नेपालीको शव ल्याउनु जति दुःख अरु केही हुन्न
    काठमाडौं-नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आज मलेसियाबाट एयरबस वाइडबडी जहाजमार्फत नेपाली युवाको २४ वटा शव र तीनवटा अस्तु लिएर फर्किए। यसअघि उनैले १७ जुलाईमा १२ वटा र २१ जुलाईमा एक नेपालीको शव लिएर आएका थिए।

    उनी नेतृत्वको नेवानि जहाजले एक सातामै ३७ वटा शव नेपाल ल्याएको छ। मलेसियामा ज्यान गुमाएका नेपाली युवा युवती मध्ये अझै १८ जनाको शव ल्याउन बाँकी रहेको उनले बताएका छन्। ‘मनमा धेरै दु:ख लाग्दा लाग्दै पनि बाध्य छौँ शव ल्याउनलाई’, उनले भनेका छन्, ‘देशको स्थिति नै यस्तै छ । धनी र ठूलाबडाहरूलाई मात्रै हो त यो देश कि सबैलाई हो ?

    उनी नेतृत्वको चालक दलले मलेसियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीबाट फर्किएका अन्य नेपालीलाई पनि ल्याए। घर फर्किन लागेका नेपाली देख्दा उनको मन रमायो। तर कयौँ शव पनि ल्याउनुपर्दा उनको मन कुँडिएको छ। आज नेवानिको आरए ४१६ उडानमार्फत २४ शव ल्याएपछि पाइलट लामाले यस्तो काम गर्नै नपरे मनले शान्ति पाउने टिप्पणी गरेका छन्।

    ‘विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न’, उनले भनेका छन्, ‘तथ्यांकमा मात्रै सीमित हुने त होला देश र सरकारको निम्ति यी शवहरु। मृतक र उनका आश्रित परिवारको सर्वस्व गुमेको छ।’

    उनले देशलाई बर्बाद पार्दै नेपाली दाजुभाइ दिदीबहिनीलाई विदेश जान बाध्य पारेकोमा राजनीतिक नेतृत्वसँग आक्रोश पोखेका छन्। ‘अब पनि पुगेन देशलाई बरबाद पार्दै नेपाली जनतालाई विदेश जान बाध्य बनाउने गरि एकआपसमा झगडा गर्न ?’, लामाले सोधेका छन्, ‘यति देखेपछि त केही गर्नु नि देश र जनताका लागि ! आफ्नो अनि पार्टीको स्वार्थ भन्दामाथि उठ्न सकिन्न र ?’

    प्रतिक्रिया दिनुहोस्
    images
    images