काठमाडौं – सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाभित्र वाग्मती नदी तथा यसका सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्ने कार्य सुरु गरेको छ।
सहरी विकासमन्त्री सुनील लम्सालका अनुसार पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती हटाइसकिएको छ भने अब दोस्रो चरण अघि बढाइएको हो।
बस्ती स्थानान्तरणलाई व्यवस्थित बनाउन विभिन्न सरकारी निकायबीच समन्वय गरिएको छ। प्रभावित नागरिकलाई बसमार्फत दशरथ रंगशाला मा ल्याई प्राथमिक दर्ता प्रक्रिया गरिनेछ, जहाँ सूचना संकलन, स्वघोषणा फाराम र डिजिटल अभिलेखीकरणका लागि छुट्टाछुट्टै सहायता कक्ष सञ्चालन गरिनेछन्।
सरकारले प्रभावित परिवारका लागि अस्थायी आवास (होल्डिङ सेन्टर), स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। ठूलो सरसामानको व्यवस्थापन र सुरक्षा पनि सम्बन्धित निकायमार्फत गरिनेछ।
संकलित विवरणका आधारमा वास्तविक सुकुम्बासीको पहिचान गरी पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ भने पहिचान नपुगेका व्यक्तिलाई होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौं ले नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न सूचना जारी गरिसकेको छ। वैशाख १८ गते बिहानदेखि बस्ती खाली गराउने कार्य औपचारिक रूपमा सुरु हुने जनाइएको छ।























