काठमाडौं- बैंक तथा वित्तीय संस्थाका ऋणीलाई कर्जा नतिर्न उक्साएको आरोपमा देवीप्रसाद संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ बस्दै आएका उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटबाट पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार संग्रौलाले ऋणीहरूलाई भेला गरी कर्जा नतिर्न उक्साउनुका साथै बैंकका कर्मचारी घर आएमा लखेट्ने, भौतिक आक्रमण गर्ने तथा कालोमोसो दल्ने जस्ता भड्काउ अभिव्यक्ति दिएका थिए। उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्























