काठमाडौं – नेपाल सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने चासो देखाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्कासँग भएको भेटमा शिक्षामा सहकार्य गर्ने प्रस्ताव राखेका हुन्।
भेटमा मन्त्री पोखरेलले सरकारका प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै फिनल्यान्डको सहयोगको प्रशंसा गरे र भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।
राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्डको सहयोग आगामी पाँच वर्षसम्म जारी रहने प्रतिबद्धता जनाए। उनले अटिजम र समावेशी शिक्षामा फिनल्यान्डको अनुभव उपयोग गर्दै सहकार्य गर्न इच्छुक रहेको बताए।
दुवै पक्षबीच डिजिटल रूपान्तरण, शिक्षा क्षेत्रको साझेदारी विस्तार तथा द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको थियो।























